महेन्द्रनगर, २९ माघ/कञ्चनपुरबाट करिव ९ किलो चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव जिरो प्वाइन्टबाट मंगलबार बिहान ८ किलो ९ सय २६ ग्राम चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका–२ का ३५ वर्षीय महेन्द्रबहादुर रोकाया र ४५ वर्षीय अमरबहादुर रोकाया रहेका छन्। महेन्द्रबहादुर रोकायाको साथबाट ४ किलो ३ सय ३९ ग्राम र अमरबहादुर रोकायाको साथबाट ४ किलो ५ सय ८७ ग्राम चरेश बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ३ जना चरेश बोकेर भारततर्फ गइरहेको विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय ब्रह्मदेवका प्रहरी नायव निरीक्षक दिपेन्द्र चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथमा चरेश फेला बताउनुभयो । उनीहरुले शरीरमा चरेश बाँधेर बाहिरबाट ज्याकेट लगाएका थिए । बझाङबाट चरेश लिएर आएका उनीहरु भारततर्फ गइरहेको खुलेको छ । जाँच गर्ने क्रममा चरेश बोकेको समूहमा रहेका एक जनाले प्रहरीमाथि हातपात गरेर भारततर्फ फरार भएका छन्। प्रहरीमाथि हातपात गर्ने बझाङको छबिसपाथीभेरा गाउँपालिका–२ का ४३ वर्षीय दीपक भनिने रामबहादुर ऐरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक जोशीले बताउनु भयो ।