धनगढीका सिंह र पातलीसहित ७५ जना डीएसपीमा बढुवा सिफारिस

धनगढी, २६ माघ/जिल्ला ट्राफिक कार्यालय कैलालीका पूर्व इन्चार्ज वकिलबहादुर सिंह र दिपक पातलीसहित नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा दरवन्दी भएका जिल्ला ट्राफिक कार्यालय कैलालीका पूर्व इन्चार्ज धनगढी निवासी दिपक पातलीको ३७ नम्बरमा नाम छ । पातलीले ९३.५९३४ अंक प्राप्त गरेका छन् । नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मुख्यालय नक्साल दरवन्दी भएका जिल्ला ट्राफिक कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढीका पूर्व इन्चार्ज धनगढी निवासी वकिल बहादुर सिंहको ५८ नम्बरमा नाम छ । सिंहले ९३.०७६७ अंक प्राप्त गरेका छन् । ५८ नम्बरमा नाम सिफारिस भएका सिंह, ५६ नम्बरमा नाम सिफारिस भएका इन्द्रजित ईटनी, ५७ नम्बरमा नाम सिफारिस भएका सुवास भट्टराई र ५९ नम्बरमा नाम सिफारिस भएका शंकर खड्काले समान अंक पाएका छन् ।


बढुवा सूचीको पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशीको नाम छ । त्यसैगरी दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह र त्यसपछि राजन रायमाझीको नाम समावेश छ ।

तपाईको प्रतिक्रिया