धनगढी, २४ माघ/कैलालीको एक अस्पतालको शौचालयमा कुरुवा मृत फेला परेका छन् । जिल्लाको धनगढीमा रहेको नोभा अस्पतालको शौचालयमा कुरुवा मृत फेला परेका हुन् । कञ्चनपुरको बेदकोट नगरपालिका–६, सिसैयाका २५ वर्षीय रविन्द्र राना मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका का प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार घटना आज बिहान साढे २ बजेको हो । प्रहरी नायव उपरीक्षक बोहराले भन्नुभयो, ‘बिरामी भतिजाको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको छन् । २ बजेतिर शौचालय गएका रहेछन् । लामो समयसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।’
बोहराका अनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।