मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणार्थ आजदेखि धनगढीमा महायज्ञ सुरु

धनगढी, २३ माघ/मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणार्थ धनगढीमा आजदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उदघाटन गर्नुभयो ।
त्यसक्रममा उहाँले सत्कर्ममा लागेका व्यक्ति, संस्थालाई प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । वृद्धवृद्धा र सहाराविहीनलाई सहारा दिनका लागि भवन निर्माणार्थ आयोजित महायज्ञको पूर्ण सफलताको कामना गर्दै उहाँले भन्नुभयो, “सबै काम सरकारले नगर्न सक्छ । गर्न नसकिएको काममा सत्कर्ममा लागेका तपाईंहरूजस्ता निःस्वार्थ भावना भएका सङ्घ संस्थाहरू जोडिनु पर्दछ भन्ने प्रदेश सरकारको मान्यता छ ।” उहाँले मानवसेवा आश्रमले नेपालमा पूर्वदेखि पश्चिमसम्म असहाय र वृद्धवृृद्धालाई गरिरहेको निःस्वार्थ सहयोग सराहनीय रहेको बताउनुभयो ।
त्यस अघी विभिन्न सांस्कृतिक बाजागाजा सहित भुवा,हुड्केली,हलिया, पुतला, गौरा, सखिया, होली,देउडा,लाखेनाच सहित सांस्कृतिक झाँकी सहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा समेत निकालिएको छ । आज देखी सुरु हुने महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले महायज्ञस्थलमा १ हजार भन्दा बढी भक्तजन अटाउने पंडालको व्यवस्था गरिएको बताए । त्यस्तै गुरु प्रवचन तथा झाँकी प्रस्तुति मञ्च, उत्तर र दक्षिण मोहडाबाट महायज्ञ स्थल प्रवेशद्वारको व्यवस्था, सूचना सम्प्रेषणका लागि मिडिया हेल्प डेस्क सेन्टर व्यवस्था गरिएको छ मिडिया ।
त्यस्तै महायज्ञ परिसर को विभिन्न स्थलमा खानेपानी वितरण कक्षको व्यवस्था गरिएको छ । भक्तजनहरूको सवारी पार्किङका लागि चारपाङग्रे र दुई पाङग्रे सवारी साधन महायज्ञ स्थल परिसर नजिकै निःशुल्क पार्किङ सुविधा सहित व्यवस्था गरिएको छ । त्यस्तै आकस्मिक अवस्थाका लागि उद्धार र सहयोग कक्ष, महायज्ञमा सहभागी हुने कोही पनि भक्त भोकै नपरुन् भनी प्रसादी वितरण कक्षको समेत वितरण गरिएको छ । महायज्ञ नजिकै सोधपुछ कक्ष, रकम योगदान दाता सेवाकेन्द्र कक्ष , महिला पुरुषको छुट्टाछुट्टै लाइन व्यवस्था, भक्तजनको तस्बिर खिच्ने र उपलब्ध गराउने कक्षका रूपमा फोटो डेक्स समेतको व्यवस्था गरिएको छ ।
महायज्ञमा हरेक दिन दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योग पीठका केन्द्रीय प्रभारी, लवदेव मिश्र लगायतबाट योग शिविर सञ्चालन हुनेछ । विद्यार्थी माझ सकारात्मक सोच, मानवता प्रवद्र्धन एवं व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रमहरू २ सेसनमा बिहान साँढे ७ बजे देखि साँढे ९ बजेसम्म र बिहान १० बजे देखि ११ बजे सम्म हुने छन् ।


महायज्ञमा २४ गतेबाट ३० गते सम्म हरेक दिन भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट बिहान साँढे ११ बजेदेखि साँढे ४ बजेसम्म संगीतमय श्रीमद भागवत कथा वाचन कथा वाचन हुनेछ । साँझ साँढे ४ बजे पछि दिव्य आरती तथा प्रसाद वितरण हुने मूल आयोजक समितिले जनाएको छ । हरेक दिन साँझ ६ः०० बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य कार्यक्रम रहनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू आयोजना हुनेछ । हरेक दिन महायज्ञमा पाञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप,पाठ परायण आदि हुने छन् ।
समितिका अनुसार महायज्ञमा उपस्थित भक्तजनहरूको ७ दिन नै चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण सञ्चालन हुनेछ । महायज्ञकै अवसरमा मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवको अवस्था झल्किने गरी सडक र स्टेज दुवैमा नाटक प्रहर्सन गर्ने तयारी छ । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरियता मानवीय मन्दिर (भवन) धनगढी उपमहानगरपालिका–१५, उर्मीमा २ विगाह जग्गामा निर्माण सुरु भइसकेको छ ।
करिब ३७ करोड रुपैयाँको गुरु योजना सहित निर्माण सुरु गरेको उक्त जग्गामा आश्रमको भवनमात्र नभई मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोमञ्जन केन्द्रको स्थापना सहित गुरु योजना तयार भएको छ । यो मानवीय मन्दिर निर्माण भएपछि सुदूर पश्चिमाञ्चलका २ सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवम् सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ ।
मानवसेवा आश्रम गते सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखा २०७५ साल मंसिर १ गते धनगढी उपमहानगरपालिका–५, तारानगरमा घर भाडामा लिई सेवा सञ्चालनमा छ । यस शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।
आश्रमले वि.स. २०८२ सालभित्र सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण घोषणा गर्ने लक्ष्यका साथ अघि बढेको छ भने घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अस्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ । हप्ता दिनसम्म आयोजना हुने श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद् भागवत कथा वाचन गर्ने जनाइएको छ ।
महायज्ञ उदघाटनसत्रमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, प्रदेशसभा सदस्य धर्मराज पाठक, धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाथारू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया