डा. रावलले भन्नुभयो, ‘मलाई पनि निकाल्या छ हैन, त्यस्तै लाग्छ मलाई’, धुर्जन्नामा पञ्चेबाजासहित स्वागत

धनगढी, २३ माघ/पूर्व उप–प्रधानमन्त्री, रक्षा र गृहमन्त्री डा. भिम रावललाई कैलालीमा भव्य स्वागत गरिएको छ । मातृभूमि जागरण अभियान, नेपालका प्रस्तावक समेत रहेका डा. भिम रावललाई जिल्लाको धनगढी उपमहानगरपालिका–१७, धुर्जन्नामा पञ्चेबाजासहित भव्य स्वागत गरिएको हो । वडा नम्बर १७ धुर्जन्नास्थित न्यू कालिका आधारभूत विद्यालयको १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएको डा. रावललाई कार्यक्रम स्थलभन्दा पाँच सय मिटर टाढैबाट पञ्चेबाजासहित स्वागत गरेर कार्यक्रम स्थलसम्म पु-याइएको थियो ।

कार्यक्रममा बोल्दै डा. भिम रावलले पार्टीमा बोल्यो किन बोलिस भनेर निकाल्न नपाइने बताउनुभएको छ । ‘नेपालको संविधानमा लेखिएको छ, लेख्ने बोल्ने र संगठन गर्ने अधिकार’ डा. भिम रावले भन्नुभयो,‘तपाईले मेरो आलोचना गर्नुभयो भन्दैमा शक्तिको प्रयोग गरेर गिरफ्तार गर्न पाइन्छ, र ! पाइदैन । हो, कसैलाई अपशव्द र अश्लिल गाली गर्नुभएन । देखेको कुरा बोल्न त यो लोकतन्त्र ल्याइएको हो । तर, आजकल कुनै कुनै दलका नेतामा यस्तो रंग चलेको छ । बोलिस भने तलाई निकालिदिन्छु । मलाई पनि निकाल्या छ हैन, त्यस्तै लाग्छ मलाई ।’ डा. भिम रावलले भन्नुभयो, ‘जसले यस्तो गर्छ त्यसले जनताको अधिकार र पार्टी भित्रका कार्यकर्ताको अधिकार कुल्चिको ठहरिन्छ । तर, हाम्रो देशको इतिहासले देखाएको छ अधिकार कुल्चिनेहरु धेरै लामो टिक्न सक्दैनन् किनभने हाम्रो देशको इतिहासमा हामीले देखेका छौं । शक्तिको उन्माद निरंकुश तानाशाही भएर म सदा सर्वदा टिक्छु भनेर घमण्ड गर्नेहरु कोही पनि टिकेको इतिहास छैन ।’ डा. रावलले नेपाल २००७ सालदेखि प्रयोगशाला बनेको बताउनुभयो । ‘यहाँ कयौं शासक फेरिए तर आज हामी ठूलाठूला नेताको भाषण सुन्दैछौं हाम्रो देशमा राजनीति स्थितर भएन ! किन भएन’ डा. रावलले प्रश्न गर्नुभयो, ‘धुरजन्नाका मुक्तकमैया, मुक्त कमलहरीले गरे कि यहाँका सुकुम्बासीले हस्तक्षप गरे ।’ ‘जसको हातमा पार्टीको मुख्य बागडोर छ । जसको हातमा सरकारको मुख्य बागडोर छ उनैले त गरे त्यो हस्तक्षेप । कसले ग¥यो, कसलाई भन्ने त्यसकारण आज हामी सवै राजनीतिक तहमा काम गर्ने नेताहरुले सबैभन्दा पहिले आफ्नोतर्फ फर्कनु पर्नेछ । कतै मैले त गरेन, मैले पनि फर्कनुपर्छ आफूतिर ।’ ‘जब हामी आफूतिर फर्कन्छौ, त्यसपछि आफूलाई सच्याउन सक्छौं होइन् भने हामी सच्याउन सक्दैनौं । तपाई हामीले जुन लोकतन्त्र ल्याएका छौं त्यसमा हामी सबैको समान अधिकार छ त्यो अधिकार उपयोग गर्न हामीले पाउँछौ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज रानाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, वडा नम्बर १७ का अध्यक्ष माधवराज राना, विद्यालयका संस्थापक अध्यक्ष डम्मरराज गिरी, पूर्व अध्यक्ष रामबहादुर पार्की लगायतले शुभकामना मन्तव्य गर्नुभएको थियो ।


कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी डा. भिम रावल, विशिष्ठ अतिथी पूर्व मन्त्री कृष्णराज सुवेदीले विद्यार्थीहरुलाई प्रमाणपत्र र शैक्षिक सामाग्री दिएर तथा शिक्षकहरुलाई खादा र सम्मान पत्रले सम्मानित गनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । बि.स. २०६४ सालमा स्थापना भएको विद्यालयमा ३१५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कार्यक्रममा आ.व. ०८१/०८२ को आयव्यय प्रधानाध्यापक बालाराम जोशीले प्रस्तुत गर्नुभएको थियो ।


ठूलो संख्यामा स्थानीय, विद्यार्थी, अभिभावकको उपस्थिती रहेको कार्यक्रम स्थलमा डा. भिम रावलले डेउडा समेत खेलेका थिए ।

 

 

तपाईको प्रतिक्रिया