कैलाली उद्योग वाणिज्य संघद्वारा खो खो खेलका खेलाडीलाई नगद २५ हजारसहित सम्मान

धनगढी, २१ माघ/कैलाली उद्योग वाणिज्य संघले हालै भारतमा सम्पन्न प्रतियोगितामा उप–विजेता बनेको खो खो नेपाली टिममा सुदूरपश्चिमबाट सहभागी भएका खेलाडीलाई सम्मान गरिएको छ । कैलाली उद्योग वाणिज्य संघमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष पुष्पराज कुँवरले खेलाडीहरुलाई सम्मान गर्नुभएको हो । प्रतियोगिताका खेलाडीहरूलाई प्रमाणपत्र र नगद २५ हजारसहित सम्मान गरेको कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेशराज पाण्डेले जानकारी दिनुभयो । भारतको राजधानी नयाँ दिल्लीमा जनवरी १३ देखी १९ तारिकसम्म भएको खो खो खेलमा नेपाली टिमका महिला तथा पुरुष खेलाडीहरू उप–विजेता भएका थिए । खो खो विश्वकपमा नेपालको महिला र पुरुष दुबै टोली उप–विजेता बनेको थियो । उक्त प्रतियोगितामा सुदूरपश्चिमबाट महिला टिमका कप्तान सरस्वती कडायत, मनमती धामी, पूजा ओड, खुश्बु राना, वर्षा पण्डित तथा पुरुषतर्फ टिम कप्तान हेमराज पनेरु, विवश चौधरी, जोगेन्द्र राना, सुरज पुजारा, समिर चन्द, गणेश विक र जनक चन्द रहेका थिए । सो खेलमा भारत महिला तथा पुरुषतर्फ विजेता बनेको थियो । पुरुषतर्फ इरान, महिलातर्फ युगान्डा र साउथ अफ्रिका तेस्रो भएका थिए । सो प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १९ देशको सहभागिता रहेको थियो । नेपालमा १९९० पछि खो–खो खेल खेल्न सुरू भएको हो ।

तपाईको प्रतिक्रिया