धनगढी, २१ माघ/सूचना केन्द्र स्थापनाका लागि नेपाल पत्रकार महासंघ कैलाली शाखालाई आवश्यक सामाग्री सहयोग गरेको छ । सरस्वती पूजाको अवसर पारेर धनगढी उपमहानगरपालिका–५, शिवनगरस्थित चैतन्य पाठशालाले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई दुई थान कम्प्युटर, एक थान प्रोजेक्टर र एक थान प्रिन्टर सहयोग गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले अध्यक्ष श्रवण देउवालाई सो सामाग्री हस्तान्तरण गर्नुभयो । नेपाल पत्रकार महासंघ कैलालीको नवनिर्वाचित समितिको बैठकले पत्रकारको सहजताका लागि सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्री मेघराज खड्काले सहयोग सामाग्री हस्तान्तरण गर्दै शिक्षा र संस्कारको क्षेत्रमा चैतन्य पाठशालाले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले सूचना केन्द्र स्थापनका लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सहयोग दिएकोमा चैतन्य पाठशालालाई धन्यवाद दिनुभयो । उहाँले केही दिनभित्र सूचना केन्द्र स्थापना गर्ने बताउनुभयो ।
कार्यक्रममा चैतन्य पाठशालाका कार्यकारी प्रमुख गणेशप्रसाद जोशी, प्रिन्सिपल कटकबहादुर सिंहलगायतको उपस्थिति थियो ।