अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित

धनगढी, २१ माघ/क्रिकेटको शहर धनगढीमा शनिबारदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरिया र डिसिए धनगढी विजयी भएका छन् ।
गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिन भएको खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले हराउँदै सिवाईसी अत्तरियाले विजयी सुरुवात गरेको हो । धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै सिवाईसीले निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा एक सय ६४ रन बनायो ।
अत्तरियाका लागि कप्तान भीम सार्कीले अर्धशतक बनाए । ३३ बलको सामना गर्दै उनले ७० रन बनाए । सो पारीमा उनले ४ छक्का र ६ चौका प्रहार गरे । अत्तरियाका लागि तृपराज दासले ३० रन बनाए । शंकर रानाले २५ रन बनाउँदा विवेक यादवले १७ बलमा अविजित २५ रन बनाए । बैतडीका लागि अमरसिंह रौटेलाले २ विकेट र रुपेश सिंहले एक विकेट लिए ।
जितका लागि पाएको एक सय ६५ रनको रनको लक्ष्य पछ्याएको बैतडीले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । बैतडीका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन हिर्काए । बसन्त खत्रीले २३ रन, सुमित बडालले १८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन्न् । सिवाईसी अत्तरियाका लागि विवेक यादवले ४ विकेट लिए । साहव आलम र कमल गुप्ताले २÷२ विकेट लिए । दिपेश कँडेलले एक विकेट लिए । खेलमा २५ रन बनाएर ४ विकेट लिएका अत्तरियाका विवेक यादव नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।


फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा डिसिए धनगढीले पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा डडेल्धुरासँग पराजित भएको डिसिए धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गर्दै डिसिए धनगढीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा एक सय ४९ रन बनायो । डिसिएका लागि राजु रिजालले २७ बलमा ३७ रन बनाए । यस्तै लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले ९ बलमा १९ रन बनाए । घोडाघोडीका लागि धर्मराज जोशीले ३ विकेट लिए । नरेन साउँदले दुई विकेट लिए ।
एक सय ५० रनको लक्ष्य लिएर मैदान उत्र्रिएको घोडाघोडी १६।५ ओभरमा सवै विकेट गुमाउँदै ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ रन र दिपक टमाट्टाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । डिसिएलाई सानदार जित दिलाउन ललीत राजवंशीले ३ विकेट लिए । मिलन बोहोरा र राहु भण्डारीले दुई दुई विकेट लिए । खेलमा ३ विकेट लिएका डिसिए धनगढीका ललीत राजवंशी नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

तपाईको प्रतिक्रिया