भोलीदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, विजेतालाई १० लाख नगद पुरस्कार

धनगढी, १८ माघ/भोली (शनिबार) देखि धनगढीमा सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक गो ड्रिमर्सले शुक्रबार धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । शनिबारबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पुरा भएर उद्घाटनका लागि तयारी अवस्थामा बसेको गो ड्रिमर्सका अध्यक्ष सुवाश बी शाहीले जानकारी दिए । प्रतियोगिताका खेलहरु खेल्नका लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण गरिएका छन् भने मैदानमा दर्शकहरुलाई बस्नका लागि कृतिम प्याराफिट पनि जडान गरिएको अध्यक्ष सुवाश शाहीले बताए । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा गायक चक्र बमको सांगितिक प्रस्तुती पनि रहनेछ ।
उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने
उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने भएका छन् । डिसिए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा बीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । उद्घाटन खेलमा नै महाभिडन्त हुने भएको छ । डिसिए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमितश्रेष्ठ लगायतका खेलाडीहरु मैदान उत्रिने छन् । फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन् । समुह ए मा रहेका दुबै टोली जितबाट प्रतियोगिताको सुरुवात गर्ने पक्षमा रहेका छन् । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समुह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समुह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
२० लाख नगद पुरस्कार, विजेतालाई १० लाख
अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
नेपाली क्रिकेट टोलीका खेलाडीहरु विभिन्न क्लबबाट खेल्दै
अर्जुन ट्रफीमा नेपाली क्रिकेट टोलीका खेलाडीहरु विभिन्न क्लबबाट खेल्दैछन् । डिसिए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमितश्रेष्ठ लगायतका विभिन्न उमेर समुहका खेलाडीहरु खेल्दैछन् । फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्दैछन् । सिवाईसी अत्तरियाबाट भीम सार्की विवेक यादव, साहव आलम, रसिद खान, दिपेश कँडेल, सन्तोष कार्की लगायतका खेलाडीले खेलिरहेका छन् । न्यु होराईजन बुटबलबाट कुशल मल्ल, दिलिप नाथ, तुलवहादुर थापा, दिपक डुम्रे, प्रतिक श्रेष्ठ लगायतका खेलाडीले प्रतियोगिता खेलिरहेका छन् । क्रिकेट एक्सीलेन्स सेन्टरबाट नन्दन यादव, दिपेन्द्र रावत, सुर्य तामाङ, युनिस विक्रम सिंह, अर्जुन घर्ती र सोनु अन्सारीले आफ्नो प्रदर्शन देखाउनेछन् ।
दशरथ चन्द एकेडेमी बैतडीबाट भुवन कार्की, अमर सिंह रौटेला, खड्क बोहोरा, दिपक बोहोरा, बसन्त खत्री लगायतका खेलाडी रहँदा घोडाघोडी ११ बाट शेर मल्ल, नरेन साउँद, आयुव चन्द, विपिन विक्रम शाही लगायतका खेलाडीहरु आफ्नो क्षमता देखाउनेछन् । बोष्टन क्रिकेट झापाबाट पवन कार्की, रमेश भट्ट लगायतका विभिन्न उमेर समुहका अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरुको सहभागीताले प्रतियोगिताको रौनकता बढाएको छ । प्रतियोगिताले आगामी दिनमा उदयमान भविष्यका ताराहरु उदाउने अपेक्षा पनि आयोजकले लिएको छ । प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गरिएका छन् । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।


पहिलो क्याच गर्ने दर्शकलाई एक लाख पुरस्कार
प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख पुरस्कार पाउने भएका छन् । धनगढीको ब्रेड बक्सले प्रतियोगितामा मैदान बाहिर बसेका दर्शकले छक्का भएको बल क्याच गरेमा नगद एक लाख पुरस्कार दिने भएको हो । साथै अन्य क्याचहरुमा पनि नगद पुरस्कार प्रदान गर्ने ब्रेड बक्सले जनाएको छ । यसका साथै खल्ती एफले क्याच गर्ने दर्शकहरुमध्येबाट दैनिक रुपमा एक जनालाई एयर बड सहितको पुरस्कार पनि दिने भएको छ । प्रतियोगिताको खेललाई प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिईएको छ । प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । प्रतियोगिताका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ ।
दर्शकका लागि फाप्लासम्म बस सेवा सञ्चालन हुने
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन हुनेछ । धनगढी उपमहानगरपालिकाले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्नेछ । प्रतियोगिता अवधिभर अर्जुन ट्रफी हेर्न जाने दर्शकहरुलाई सहजताका लागि सहुलियत दरमा बस सेवा सञ्चालन गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पसचोकदेखि नै मुख्य सडक बाहिरी क्षेत्र भएर अर्को रुटमा नगर बसले फाप्लासम्म सेवा सञ्चालन हुनेछ । २० मिनेटको अन्तरमा नगर बसले सेवा दिने सम्झौता भएको छ । धनगढी उपमहानगरपालिकाद्धारा सञ्चालित नगर बसले अर्जुन ट्रफीको अवधिभर फाप्लासम्म नगर बस सेवा दिनेछ । खेल हेर्न जाने दर्शकहरुलाई नगर बसले सहज हुनेछ । नगर बसको सेवा पाउने भएपछि खेल हेर्न उत्साहित दर्शकहरु खुशी भएका छन् ।
अर्जुन ट्रफीको टिकट खल्ती एपमा पाईने
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको टिकट खल्ती एपमा पाईनेछ । गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगितालाई प्रत्यक्ष रुपमा मैदान गएर खेल हेर्नका लागि खल्ती एपमा टिकटको सुविधा रहेको छ । प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिईने भएको छ । टिकटको मुल्य बराबरको उपहार दर्शकहरुले पाउने खल्तीले जनाएको छ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरुलाई मैदानमा आएर खेल हेर्नका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरुलाई बस्नका लागि अस्थायी प्याराफिट बनाईएको छ ।

तपाईको प्रतिक्रिया