धनगढी, १८ माघ/प्रथम खो–खो विश्वकप २०२५ नेपाली टोलीमा सहभागी उपविजेता सुदूरपश्चिमका खेलाडी तथा व्यवस्थापकलाई कैलालीमा सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश खो खो संघको आयोजनामा तथा कैलाली जिल्ला खो खो संघको सह–आयोजनामा धनगढीमा एक भव्य कार्यक्रम गरेर सम्मान गरिएको हो ।
धनगढी उपमहानगरपालिका–३, बोराडाडीस्थित त्रिभुवन माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम गरी खेलाडीहरुलाई सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेश खो खो संघका अध्यक्ष डाक्टर कृष्णबहादुर बोहराको अध्यक्षतामा तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा खेलाडीहरुलाई सम्मान गरिएको हो । खेलाडीहरुलाई सदस्य सचिव दिपकबहादुर सिंहले खादा माला र नेपाली टोपी लगाएर सम्मान गर्नुभयो । प्रथम खो–खो विश्वकप २०२५ नेपाली टोलीमा सहभागी उप–विजेता सुदूरपश्चिमका १२ जना खेलाडी सहभागि रहेका थिए । पुरुषतर्फ टिम कप्टान हेमराज पनेरु, समिर चन्द, जनक चन्द, विवश चौधरी, सुरज पुजारा, जोगन्द्र राना, गणेश बिक तथा महिलातर्फ टिम कप्तान सरस्वती कडायत, मानमती धामी, पुजा ओड, खुश्बु राना, वर्षा पण्डीत रहेका थिए । सोमध्ये नेपाली सेनाका ८ जना खेलाडी रहेका छन् ।
पुरुषतर्फ टिम कप्टान हेमराज पनेरु र महिलातर्फ टिम कप्टान सरस्वती कडायत तथा समीर चन्द, सुरज पुजारा, विवश चौधरी, जनक चन्द, मानमती धामी र पुजा ओड सहभागी रहेका थिए । उनीहरु सबै सुदूरपश्चिम प्रदेशका हुन् । कार्यक्रममा टिम व्यवस्थापक कृष्ण पनेरुलाई समेत सम्मानित गरिएको थियो । यसअघि धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी धाममा समेत खेलाडी तथा टिम व्यवस्थापकलाई सम्मान गरिएको थियो ।
यसअघि अत्तरियाबाट बाजागाजासहित विजय ¥याली निकालिएको थियो । ¥यालीले धनगढी बजार परिक्रमा गरेको थियो । प्रथम खो खो विश्वकपको फाइनलमा पुगेर नयाँ इतिहास रच्न सफल भएका नेपाली पुरुष र महिला राष्ट्रिय टोलीहरू प्रतियोगिताको अन्तिम खेलमा भारतसँग पराजित भएका थिए । नेपाली खेलकुदको ६ दशक लामो इतिहासमा कुनै पनि खेलमा विश्वकपमा सहभागी हुँदै फाइनलसम्मको यात्रा तय गरेको यो पहिलो पटक थियो ।