धनगढी, १५ माघ/माघ २२ गतेदेखि कैलाली जिल्लामा पनि पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोप अभियान सञ्चालन हुने भएको छ । २२ गते विश्व क्यान्सर दिवसको अवसर पारेर कैलाली जिल्लामा पनि अभियान सुरु हुने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । मंगलबार धनगढीमाएच.पी.भी. खोप अभियानबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले सो जानकारी दिनुभएको हो । ‘२२ माघदेखि फागुन ६ गतेसम्म विश्व क्यान्सर दिवसको अवसर पारेर देशभर एकै पटक अभियान सुरु हुदैछ’ वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले भन्नुभयो, ‘कैलालीका १३ पालिकामध्ये २ पालिका बाहेक अन्य पालिकामा माघ २२ गतेदेखि नै अभियान सुरु हुँदैछ ।’ वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले भन्नुभयो, ‘जोशीपुर गाउँपालिकामा २४ गतेदेखि ३० गतेसम्म र मोहन्याल गाउँपालिकामा माघ २७ गतेदेखि फागुन २ गतेसम्म चल्नेछ ।’ कैलालीमा ५० हजार ६ सय १३ जनालाई खोप दिने वरिष्ठ जनस्वास्थ्य अधिकृत कुँवरले बताउनुभयो । विद्यालयमा रहेका खोप केन्द्रबाट ४७ हजार ३ सय २६ छात्रा र विद्यालय नजाने ३ हजार २८७ बालिकालाई खोप लगाइने बताइएको छ ।
विद्यालयमा खोप पाउने मध्येमा कक्षा ६ का दस हजार २ सय ५३ र कक्षा ७ देखि १० सम्मका ३७ हजार ७३ छात्रा रहेका कुँवरले बताउनुभयो । विद्यालयबाहिर रहेका १० वर्ष उमेरका ८ सय ५७ जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २ हजार ४ सय ३० जना रहेका जनाइएको छ ।
कैलालीका १३ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा १० हजार ८ सय ३४ र सबैभन्दा कम चुरे गाउँपालिकामा एक हजार एक सय ८ जनालाई एचपिची खोप लगाइने छ ।