को हुन सुदूरपश्चिम प्रदेश सरकारले शहीदका लागि सिफारिस गरेका बाकावीर र लोकराज

धनगढी, १५ माघ/सुदूरपश्चिम प्रदेश सरकारले बलदेव शाह ‘बाकावीर’ र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ।
प्रदेश मन्त्रीपरिषद्को सोमवारको बैठकले अछामको ककड शान्ता मोतिपुरकोट जन्मेका बलदेव शाह ‘बाकावीर’ र कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरका लोकराज ढकाललाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
बाकावीर र लोकराज ढकालको योगदानको कदर गर्दै मन्त्रीपरिषद्बाट सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। बाकावीरलाई जिल्ला समन्वय समिति अछामको सिफारिस र ढकाललाई लम्की चुहा नगरपालिकाको सिफारिसको आधारमा उनीहरूको योगदानको कदर गर्दै मन्त्रीपरिषद्बाट सिफारिस गरी गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
बाँकावीरले राणाहरूले अछामी जनतामाथि गरेको अत्याचारविरुद्ध बहादुरीपूर्ण लडाइँमा सहादत प्राप्त गरेका थिए। वि.सं. १९०६ सालमा बाकावीरले राणाविरुद्ध विद्रोह गर्न खोजेको इतिहासकार बताउँछन्।
कैलालीको कौवापुरका लोकराज ढकाललाई सशस्त्र द्वन्द्वताका सुदूरपश्चिममा विद्रोही पक्षबाट मारिने पहिलो व्यक्तिको रूपमा लिइन्छ। उनको २०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा विद्रोही माओवादी पक्षबाट हत्या गरिएको थियो। उनी तरुण दल कैलालीका सदस्य पनि थिए।

 

तपाईको प्रतिक्रिया