धनगढी, ९ माघ/वर्षातको समयमा हुने डुबान रोक्न कैलाली सदरमुकाम धनगढीमा नाली निर्माणको शिल्यान्यास गरिएको छ । डुबानको समस्या समाधान गर्न ६ लेन सडकमा नाली निर्माणको शिल्यान्याश गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नाली निर्माणको शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि बोल्दै पूर्व मन्त्री प्रकाश देउवाले संघीय सरकारको वजेटमा नाली निर्माण हुन लागेको बताउनुभयो । ‘चुनावताका भोट माग्न घरदैलोमा जाँदा जनताबाट पानी निकासको व्यवस्था मिलाइदिन अनुरोध आयो’ पूर्व मन्त्री प्रकाश देउवाले भन्नुभयो, ‘स्थानीय र प्रदेश सरकारको वजेटले भ्याउदैन, संघीय सरकारको वजेट आवश्यक छ । त्यसका लागि हामीले संघीय सरकारसंग अनुरोध ग¥यो, आजबाट नाली निर्माणको काम सुरु भयो ।’ देउवाले भन्नुभयो, ‘हाम्रो देशमा तीन तहको सरकार छ । कुनै पनि ठाउँको विकास गर्न र समाजलाई अगाडि बढाउन तीनै तहका जनप्रतिनीधिबिच समन्वय हुनुपर्छ । समन्वय राम्रो भएमा त्यहाँका जनताले सुविधा पाउँछन् र विकास पाउँछन् ।’
निकास नहुँदा हरेक वर्ष धनगढी उपमहानगरपालिकाको वडा नम्बर २, ३ र ४ डुबान हुँदै आएको छ । वर्षातको पानी फाल्न ६ लेन सडकमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माणका लागि सम्झौता गरेको थियो । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीका आयोजना प्रमुख शिखर लामा तामाङ्गले ६ लेन सडकको एकातर्फ एक हजार तीन सय ६५ मिटर र अर्कोतर्फ एक हजार चार सय ५० मिटर लामो नाली निर्माणको काम सुरु भएको बताउनुभयो । आयोजना प्रमुख तामाङ्गका अनुसार सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा लागतमा एमबी शुभलक्ष्मी र आदर्श जेभी तथा ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसामा सनराइज चन्द्र विकाश र मस्टा जेभीले नालीको काम गर्नेछन् ।
बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बरहरू निर्माण गरिने छ । नाली सफा गर्नका लागि होलहरूसमेत निर्माण गरिने छ । निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गते भित्र काम पूरा गर्नुपर्ने छ । २२ महिनामा निर्माण कम्पनीले २ हजार ८ सय १५ मिटर नाली निर्माणको काम सक्नुपर्ने छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले निर्माण कम्पनीसंग समयमै काम सक्न आग्रह गर्नुभयो । नगर प्रमुख हमालले डुबानका कारण जनताले दुःख पाएको र जनप्रतिनीधिले गाली खानु परेकाले समयमै काम सक्न आग्रह गर्नुभयो । उहाँले यो काम समयै सकिए थप वजेट माग गर्न सहज हुने बताउनुभयो । नाली निर्माणपछि वर्षातको समयमा डुबानको समस्याबाट छुट्कारा पाउनेमा स्थानीयहरु आशावादी छन् ।