धनगढी, ८ माघ/नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन् । उनलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।
गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही विषयमा उनलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । ‘जय ट्रफीका बेला सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई एक खेलका लागि निलम्बन गरिएको क्यानका प्रवक्ता छुम्बीले बताए । सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ ।