सुदूरपश्चिम प्रदेश सभा दिवस–२०८१ मनाइयो

धनगढी, ७ माघ/सुदूरपश्चिम प्रदेश सभा दिवस–२०८१ भव्य समारोहको आयोजना गर्दै मनाइएको छ । धनगढीस्थित प्रदेश सभा परिसरमा कार्यक्रमको आयोजनाग गर्दै दिवस मनाइएको हो ।
सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरूले पहिलो पटक २०७४ माघ ७ गते सपथ ग्रहण गरेको सम्झनामा सुदूरपश्चिम प्रदेश सभा दिवस मनाइदै आइएको छ । समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले स्थापना दिवस अत्यन्तै महत्वपूर्ण रहेको र नेपालको लागि नयाँ कोशे ढुङ्गा सावित हुने बताउनुभयो । उहाँले विगतमा भएको राम्रो कामको समिक्षा र चाहदा चाहदै पनि गर्न नसकेका काम कसरी अगाडि बढाउने लगायतको विषयमा छलफल गर्ने थलोको रुपमा बुझेको बताउनुभयो ।
समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हालसम्म प्रदेश सरकारले गरेको कामको बारेमा चर्चा गर्नुभयो । मुख्यमन्त्री शाहले संसदलाई थप सक्रिय बनाउने कुरामा आफू विश्वास रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले संघीयता कार्यान्वयनका साथै विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राखेर कार्य सम्पादन गरिरहेको बताउनुभयो ।
सभामुख भिमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मुख्यमन्त्रीहरु दीर्घ सोडारी, राजेन्द्रसिंह रावल, त्रिलोचन भट्ट, उप–सभामुख कोइलीदेवी चौधरी, प्रदेश सभा सदस्य डाक्टर तारा जोशी, पूर्व मन्त्री पूर्णा जोशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रदेश सभा सचिव देवबहादुर बोगटीले स्वागत एवम् प्रदेश सभाले गरेको काम कारवाहीको बारेमा जानकारी दिइएको कार्यक्रममा रक्तदान गर्ने १३ जनालाई प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रतिनीधि सभा सदस्य डिल्लीराज पन्त, प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य, प्रदेश मन्त्रालयका सचिव, प्रदेशका सुरक्षा निकायका प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी, कैलालीका सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

प्रदेश सभा सचिवालय सुदूरपश्चिमले कार्यक्रमको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया