५६ जिल्लामा भूमि आयोग गठन, कैलाली अध्यक्षमा यज्ञराज उपाध्याय

धनगढी, २९ पुस/सरकारले ५६ जिल्लामा भूमि आयोग गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका ती जिल्लाहरुमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गरेका हुन् ।
आयोगका नियुक्त जिल्ला अध्यक्षको आजै शपथ गराउने तयारी गरिएको छ । यसरी नियुक्त भएकामध्ये कोशी प्रदेशका १०, मधेशका ६, बाग्मतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्ला रहेका छन् । बाँकी २१ जिल्लाका अध्यक्षहरु भने नियुक्त हुनै बाँकी छ ।
कोशीको तेह्रथुम, धनकुटा र सुनसरी, मधेसको सिरहा र रौतहट, बाग्मतीको दोलखा, धादिङ, चितवन र मकवानपुर, गण्डकीको गोरखा, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र बागलुङ, कर्णालीको जुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बझाङ र कञ्चनपुर जिल्लाका अध्यक्षको नियुीक्त बाँकी छ ।
सत्तारुढहरु दलहरुबीच कांग्रेसले ३५, एमालेले ३५ र जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्नेगरी सहमति भएको थियो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा बसेर भागबन्डा टुंग्याएका थिए ।

सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको कैलालीको अध्यक्षमा यज्ञराज उपाध्याय, डडेल्धुरा अध्यक्षमा कैलास कुमार पाण्डेय, बैतडी अध्यक्षमा रमेश दत्त पाण्डेय, दार्चुला अध्यक्षमा लालसिंह धामी, अछाम अध्यक्षमा राज आउजी, डोटी अध्यक्षमा डम्बरबहादुर ओली र बाजुरा अध्यक्षमा जनकबहादुर रोकाया नियुक्ति भएका छन् । सुदूरपश्चिमको बझाङ र कञ्चनपुर जिल्लाका अध्यक्षको नियुीक्त बाँकी छ ।

तपाईको प्रतिक्रिया