५ भदौ , कैलाली : कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । दुई वर्ष अगाडि धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको उक्त ‘होल्डिङ सेन्टर’ प्रयोगमा नआउदा जीर्ण बनेको हो ।
विसं २०७८ वैशाखमा २८ करोड ८१ लाख लागतमा निर्माण सुरु भएको उक्त होल्डिङ सेन्टर २०७९ साउनमा सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।
प्रमुख जिल्ला अधिकारी मिश्रले नेपाली सेनाद्वारा निर्मित उक्त सेन्टर सञ्चालनको ढाँचा र जिम्मेवारी रक्षा मन्त्रालयबाट आउनुपर्नेमा हालसम्म नआउँदा स्वामित्व हस्तान्तरण हुन नसकेको बताए ।
उनका अनुसार एक हजार क्षमताको होल्डिङ सेन्टरमा ५९ ब्लक, २० क्वारेन्टिन, दुई चिकित्सक कक्ष, २२ शौचालय तथा १५ वटा भान्सा कोठा निर्माण गरिएका छन् । होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको प्रजिअ मिश्रले जानकारी दिए ।