२४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ पटेला स्मार्ट क्लब उपाधि नजिक

३०भदौ,धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ पटेला स्मार्ट क्लब उपाधि नजिक पुगेको छ । आयोजक न्यु युवा सुन्दर शक्ती युवा क्लबलाई सेमिफाईनलमा फराकिलो अन्तरले हराउँदै पटेला स्मार्ट उपाधि नजिक पुगेको हो । पटेला स्मार्टले आयोजक न्यु युवा सुन्दर शक्तीलाई सेमिफाईनलमा ५–० ले हराउँदै फाईनलको यात्रा तय गरेको हो ।
न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलहरुमा भने ईलाईट युवा क्लब र सागर युवा क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् । पुरुष तर्फको पहिलो खेलमा सागर युवा क्लबले जेवाईसी अत्तरियालाई हरायो । सागरले जेवाईसीमाथि १–० को जित निकाल्यो ।

कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँको खेल मैदानमा भईरहेको प्रतियोगिताकोपुरुष तर्फको दोस्रो खेलमा ईलाईट युवा क्लब विजयी भयो । ईलाईटले नेपाल पुलिस क्लबलाई हरायो । ईलाईटले पुलिसमाथि पनि १–० को साघुरो जित दर्ता गर्यो । पुरुष तर्फको तेस्रो खेलमा कैलारी गाउँपालिका वडा नम्बर ३ को कार्यालयको टीम विजयी भयो । वडा नम्बर ३ ले कमल युवा क्लबलाई हरायो । वडा नम्बर ३ ले कमल युवा क्लबमाथि १–० को जित हात पार्यो ।

तपाईको प्रतिक्रिया