११औं श्रीमद भागवत महायज्ञ फागुन २ गतेबाट सुरु हुने

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी धाममा ११ औं श्रीमद् भागवत महायज्ञ फागुन २ गतेबाट सुरु हुने भएको छ । आयोजक शिवपुरी उत्तर रामेश्वरम ज्योतिर्लिङ्ग धाम ब्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २ गतेदेखि ८ गतेसम्म श्रीमद्भभागवत प्रवचन,मत्स्य पुराण, श्रृङ्गारिक महाआरती,हनुमान चालिसा, हवनात्मक अनुष्ठान, अष्ठचिरन्जीवी प्राणप्रतिष्ठा महायज्ञ २०८० हुने जानकारी दिएको हो । ११ औं संस्करणको महायज्ञमा १०८ शिवलिंग स्थापना संकल्प गरिने बताइएको छ ।

महायज्ञमा ब्रम्हनिष्ठ सन्त शिरोमणी लोकानन्द स्वामीको प्रवचन, प्रखर पुराण बाचक पुराणोपासक आचार्य सत्यराज अवस्थीबाट संगीतमय प्रवचन, वैदिक कार्यहरु विवाह, ब्रतबन्ध, ८४ पुजा, गृह शान्ति, कालसर्प योग निवारण जस्ता अनुष्ठानहरू पनि हुने बताईएको छ ।

महायज्ञमा वाराणसीको गंगा घाट र पशुपतिनाथको गंगा घाटमा हुने संगीतमय आरती, पञ्च कुण्डमा हवन अनुष्ठान, भगवान शंकरको रुद्राभिषेक हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

धाम ब्यवस्थापन समितिका अध्यक्ष बलदेव प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि बहादुर खडका प्रमुख अतिथि रहेका थिए ।

शिवपुरी धाम, लोकानन्द स्वामीको परिकल्पनाबाट २०७० साल देखि दाताहरुको दानबाट मात्र निर्माण भएको हो । धाममा करोडौंका संरचना दानदातब्यबाट निर्माण भएका छन । १०८ फिटको शिवलिंग धामको मुख्य आकर्षण हो ।

पत्रकार सम्मेलनमा धाम ब्यवस्थापन समितिका उपाध्यक्ष सिद्धराज पनेरुले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने पुराणोपासक आचार्य सत्यराज अवस्थीले पनि धामका बारेमा बताएका थिए । कार्यक्रमको सञ्चालन सचिव भीम कुवँरले गरेका थिए ।

तपाईको प्रतिक्रिया