धनगढी, मंसिर १८। कञ्चनपुरको लालझाडीमा हात्तीले घर भत्काएपछि स्थानीको बिचल्ली भएको छ ।
लालझाडी गाउँपालिका ४ इटाहामा रहेका १८ मध्ये १७ घर आइतबार राति हात्तीले भत्काएपछि स्थानीय बासिन्दाको बिचल्ली भएको हो ।
घर भत्काएपछि स्थानीय बचेको एउटा घरको आँगनमा रात बिताउन बाध्य भएका छन् । घरमा राखेको अन्नपात समेत हात्तीले नोक्सान गरेपछि भोकभोकै बस्नुपर्ने अवस्था आएको छ ।
लालझाडी गाउँपालिकामा हात्तीको आतंकले धनजनको क्षति पुर्याएको खबर पाएपछि सुदूरपश्चिम सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा सोमवार स्थलगत निरीक्षणको लागि लालझाडी गाउँपालिका पुगेका थिए ।
हालसम्म हात्तीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरेर राहातको ब्यवस्थाकालागि प्रदेश सरकारले पहल गर्ने मन्त्री थापाले बताए ।
भदौको दोस्रो सातादेखि लालझाडी गाउँपालिकाको विभिन्न वार्डहरुमा प्रवेश गरेको हात्तीको बथानले धन जनको क्षति पुर्याएको छ ।
भारतको दुदुवा नेशनल पार्कबाट नेपाल प्रवेश गरेको करिब ४०, ५० को समूहमा रहेको हात्तीको बथानले लालझाडी क्षेत्रको घरहरु भत्काउनुका साथै खेतीको नोक्सान गरेको छ ।