स्वास्थ्यकर्मी माथि हातपात गर्ने व्यक्ति पक्राउ

४असोज,धनगढीः कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात भएको कुरा उठाउनु भएको थियो। उक्त घटना गम्भीर भएकाले तत्काल गृह मन्त्रालय प्रशासनले कारबाही गर्नुपर्ने माग गर्नु भयो। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समिति कक्षबाटै कञ्चनपुरको प्रहरी नेतृत्वसँग कुरा गरेर उक्त घटनाबारे जानकारी लिनु भएको थियो।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले उक्त घटनामा संलग्न गैरमाथि आक्रमण गर्ने बेलौरी नगरपालिका गोकुलपुरका रामबहादुर खड्का पक्राउ परिसकेको जानकारी दिनुभयो।

बिरामीको उपचार गर्ने क्रममा खड्काले उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि हातपात गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया