स्वस्तिक अस्पताल धनगढीद्वारा ट्राफिक प्रहरीलाई कम्मरमा भिड्ने सानो झोला सहयोग

३० साउन, धनगढी  :  स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल प्रा.लि.ले ट्राफिक प्रहरी कार्यालय कैलाली र ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिम प्रदेश कार्यालयलाई कम्मरमा भिड्ने सानो झोला सहयोग स्वरूप प्रदान गरेको छ ।

सोमबार साँझ जिल्ला र मङ्गलवार बिहान प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई गरी फरक÷फरक समयमा अस्पतालले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका वडा न.३ सहिद गेटको सामुन्ने रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल प्रा.लि. को सौजन्यमा कैलाली जिल्लामा कार्यरत रहेका ट्राफिक प्रहरीहरूलाई सडक सुरक्षाका क्रममा कार्यसम्पादनमा सहज होस र २४ घण्टे चिट, डायरी तथा अन्य कागजपत्र सुरक्षित रहोस् भन्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरीलाई १०० थान र एक भित्ते घटी तथा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई ५० थान गरी जम्मा १५० थान कम्मरमा भिड्ने सानो झोला हस्तान्तरण गरिएको अस्पतालका अध्यक्ष महेश राज जोशीले बताए ।

यस्तै, उक्त ट्राफिक प्रहरी कर्मचारीहरूलाई डायरी तथा अन्य कागजपत्र बोक्ने ब्याग हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्र जोहारीले यस्तो खालको सहयोगले आफूहरूलाई काम गर्न थप हौसला मिलेको भन्दै स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल प्रा.लि. परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत ट्राफिक प्रहरी निरीक्षक रण बहादुर विष्टले स्वस्तिक अस्पताललाई धन्यवाद दिँदै यस्ता खालका रचनात्मक कार्यले काम गर्ने हौसला मिल्ने गरेको र अझै आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा राखेको बताए ।

स्वस्तिक अस्पतालका अध्यक्ष महेश राज जोशी स्वयम सक्रिय सहभागी भई गरिएको उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा स्वस्तिक अस्पतालका सञ्चालक समिति सदस्य दीपेन्द्र तिवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा कार्यरत कर्मचारीहरू, प्रदेश ट्राफिक कार्यालयका कार्यरत कर्मचारीहरू र पत्रकार दीपक उपाध्याय एवं विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चार कर्मी हरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया