सुदूरपश्चिम रोयल्सले सोमबार टाइलेण्ट हण्ट आयोजना गर्दै, दुई सय बढी खेलाडी सहभागी हुने

धनगढी, मंसिर १ । नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार टाइलेण्ट हण्ट आयोजना गर्ने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि टाइलेण्ट हण्ट शुरु हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । टाइलेण्ट हण्ट छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको छ ।

टाइलेण्ट हण्टमा सहभागी हुन चाहने खेलाडीहरुका लागि सुदूरपश्चिम रोयल्सले अनलाइन रजिष्ट्रेसनमार्फत खेलाडी दर्ताको लागि १५ दिन अगाडि नै सूचना जारी गरेको थियो । टाइलेण्ट हण्टमा सहभागी हुन अहिलेसम्म सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय भन्दा बढी खेलाडीहरुले नाम दर्ता गराएको रोयल्सले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीले टाइलेण्ट हण्टबाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको थियो । आइतबार टाइलेण्ट हण्ट सकेर सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेल मैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ । त्यसपछि टिम मंसिर १५ गतेबाट काठमाण्डौंमा आयोजना हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुन काठमाण्डौं जानेछ ।

त्यस्तै सुदूरपश्चिम रोयल्सले मंसिर १८ गते धनगढीको चौराहदेखि रंगशालासम्म र्यालीको पनि आयोजना गर्ने भएको छ ।

र्यालीमा सहभागी हुन मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी,आरिफ शेख, विनोद भण्डारीलगायत टिममा आबद्ध नेपालमा उपलब्ध भएका सबै खेलाडीको सहभागिता रहने र र्यालीको तयारी भैरहेको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।

उनले सुदूरपश्चिको पहिचानलाई थप उचाइमा पुगाउन सुदूरपश्चिम रोयल्सको सिंगो टिम लागि परेको भन्दै धनगढीमा उपलब्ध हुने सबै सुदूरपश्चिमेलीलाई र्यालीमा सहभागी भएर टिमको हौसला बुलन्द गरिदिन हुन आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया