सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि, १५ करोडको कारोबार हुने अपेक्षा

धनगढी, मंसिर ११ । कैलालीको धनगढीमा लाग्दै आएको सुदूरपश्चिम महोत्सवको १८औं संस्करण यही मंसिर २२ गतेदेखि सुरु हुने भएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घले आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिम महोत्सव आयोजनाबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको करिब ७० प्रतिशत तयारी भइसकेको जानकारी दिए । महोत्सवलाई भव्य र सभ्य बनाउन पूर्वतयारीका लागि २९ वटा समिति बनाएर कार्य भइरहेको उनले बताए ।

महोत्सवमा प्रदेश बाहिरका उद्योगी व्यवसायीहरूलाई पनि आमन्त्रण गरिएको र उनीहरुको पनि व्यवसाय प्रवर्द्धन गर्न महोत्सवले ठूलो भूमिका खेल्ने उनले बताए ।

जम्मा ३ करोडको लगानीमा १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा ५ सय स्टल रहने र त्यसमध्ये ९५ प्रतिशत स्टल बुक भइसकेको अध्यक्ष कुँवरले बताए । ५ लाखले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ अन्यलाई १०० रुपैयाँ टिकट निर्धारण गरिएको छ ।

आयोजकले टिकटबाट उठेको केही रकम सामाजिक कार्यका लागि समेत छुट्याइएको जनाएको छ ।

महोत्सव उद्घाटनका लागि प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको छ । यद्यपि प्रधानमन्त्री आउने वा नआउनेबारे निश्चित भई नसकेको संघले जनाएको छ ।

महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री आउने भएमा कैलाली उद्योग वाणिज्य संघले विगतदेखि गर्दै आएको शालिन आन्दोलन अन्तर्गत प्रधानमन्त्रीलाई ११ किलोको माला लगाउने तयारी गरेको छ ।
उद्योग वाणिज्य सङ्घ कैलालीका महासचिव ओम बिष्टले उद्योग वाणिज्य संघले उठाएका २१ मागमध्ये ११ माग पूरा हुन बाँकी रहेकाले सरकार प्रमुखलाई ११ किलोको माला लगाइने बताए ।

यदि महोत्सव उद्घाटनमा प्रधानमन्त्री आउन सकेनन् भने के कसरी माग राख्ने भन्ने विषयमा भने अझै निश्चित नभएको महासचिव बिष्टले बताए । उनका अनुुसार प्रधानमन्त्री चीन भ्रमणबाट चाँडै फर्किन नपाए अन्य व्यक्तित्वलाई प्रमुख अतिथि बनाउने विषयमा छलफल भइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया