सुदूरपश्चिम प्रादेशिक इन्धन डिपो अत्तरिया सार्दै आयल निगम, डिपो सार्न साढे तीन अर्ब रुपैयाँ लाग्न

धनगढी, ६ माघ/नेपाल आयल निगमले तीन इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । जसमा धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक, सिनामंगलस्थित हवाई इन्धन डिपो र लुम्बिनी प्रादेशिक डिपो छन् । सुदूरपश्चिमको धनगढीबाट अत्तरिया, सिनामंगलको त्रिभुवन विमानस्थलबाट उत्तर–पश्चिम गुह्येश्वरीतर्फ र लुम्बिनीको रूपन्देही भलवारीबाट रोहिणी नदी किनारमा सार्न लागिएको हो ।
सुदूरपश्चिमको डिपो सार्न साढे तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ । लुम्बिनीको लागत तीन अर्ब २० करोड अनुमान गरिएको छ । सिनामंगलको भने यकिन भइसकेको छैन । यसअघि करिब ६ अर्ब लागत अनुमान गरिएकामा बढ्न सक्ने निगमका अधिकारी बताउँछन् ।
निगमले यी तीनमध्ये सिनामंगलको डिपो स्थानान्तरणको डीपीआर तयार गर्न पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको छ । लुम्बिनीका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । सुदूरपश्चिमका लागि पनि काठमाडौँ विश्वविद्यालयसँगै सम्झौता गर्ने तयारी भएको निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीप यादवले बताए । परियोजना प्रमुख यादवका अनुसार यी तीनै डिपो स्थानान्तरण कार्य २०८४ सालभित्र सम्पन्न गरिसक्ने योजना छ । यादवका अनुसार सुदूरपश्चिम प्रादेशिक डिपो घना बस्तीसँगै भएको र व्यावसायिक मागसमेत धान्न नसक्ने भएर धनगढीबाट अत्तरियामा सार्न लागिएको हो । उनले भने, ‘डिपो सुरक्षाको मापदण्डभन्दा बाहिर परेका कारण बस्तीसमेत जोखिममा परेकाले सार्न लागिएको हो ।’ उनका अनुसार निगमको आर्थिक वर्ष २०८१÷८२ को बजेटमा सञ्चालक समितिद्वारा ‘सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीतिअनुरूप कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइनेछ’ भन्ने बुँदा समेटिएको छ, यादवले भने, ‘त्यस बुँदालाई मनन गरी स्थानान्तरण थालिएको हो ।’
कैलालीको गोदावरी नगरपालिका–८ अत्तरियास्थित पूर्व–पश्चिम राजमार्गनजिकै २० बिघा १६ कट्ठा आठ धुरमा नयाँ डिपो बनाउने तयारी थालिएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार उक्त जग्गा खरिद प्रक्रिया अघि बढाइएको छ ।
यादवका अनुसार जग्गा प्राप्ति यही माघ १५ गतेभित्र मन्त्रिपरिषद्बाट स्वीकृत हुने अपेक्षा छ । आगामी चैतभित्र जग्गा अधिग्रहण सम्पन्न भई २०८२ वैशाख पहिलो साताभित्र शिलान्यास गर्ने तयारी छ । नयाँ स्मार्ट डिपो २०८४ वैशाखभित्र सञ्चालनमा ल्याइने भएको छ । यस परियोजनामा डीपीआर, डिपो निर्माण एवं जग्गा अधिग्रहणको कुल अनुमानित लागत साढे तीन अर्ब छ ।
धनगढीको भीमदत्त पन्त राजमार्गसँगै जोडिएको चटकपुरमा एक बिघा आठ कट्ठामा डिपो सञ्चालित छ । दुई हजार ८९० किलोलिटर कुल क्षमतामा सञ्चालित उक्त डिपोबाट पेट्रोल दैनिक ८० र डिजेल २५० किलोलिटर बिक्री हुँदै आएको छ ।
उक्त स्थानमा ११ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट डिपो निर्माण गरिने भएको छ । जसमध्ये पेट्रोल एक हजार ८००, डिजेल ६ हजार ६००, मट्टीतेल ५०० र पानी ट्यांकी तीन हजार किलोलिटर क्षमताको निर्माण गर्ने जनाइएको छ ।
यसअघि कञ्चनपुरको पुनर्वास–३ र ६ स्थित राष्ट्रिय आवास कम्पनीको ७४ बिघामध्ये २२ बिघा माग गरिएको थियो । तर, स्थानीयवासीबाट विरोध आएको कारण देखाई पुनर्वास नगरपालिकाले जग्गा दिन इन्कार गरेपछि अर्को स्थान खोज्नुपरेको थियो ।
धनगढीको भीमदत्त पन्त राजमार्गसँगै जोडिएको चटकपुरमा एक बिघा आठ कट्ठामा डिपो सञ्चालित छ । दुई हजार ८९० किलोलिटर कुल क्षमतामा सञ्चालित उक्त डिपोबाट पेट्रोल दैनिक ८० र डिजेल २५० किलोलिटर बिक्री हुँदै आएको छ । सात दिनको माग पुग्ने गरी ७६० किलोलिटरका दुइटा डिजेलको भर्टिकल ट्यांक छन् । ७६० किलोलिटरको एउटा पेट्रोल ट्यांक छ । ७०र७० किलोलिटरको पेट्रोल, डिजेल र मट्टीतेलका तीनवटा अन्डरग्राउन्ड ट्यांक छन् ।
उक्त डिपोबाट सुदूरपश्चिमका नौ जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, बझाङ, बाजुरा, डोटी, अछाम र कैलालीमा इन्धन वितरण भइरहेको छ । २०३७ सालमा निर्माण भएको उक्त डिपो क्षेत्रमा त्यति बेला बस्ती थिएन । हाल वरिपरि बाक्लो बस्ती बसिसकेको छ । डिपोका कारण बस्तीमा त्रास बढेको गुनासो दैनिक रूपमा आएपछि धनगढी नगरपालिकाले सार्न निगमलाई आग्रह गरेको थियो ।

 

तपाईको प्रतिक्रिया