धनगढी, ३ माघ/पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
आज राति भने हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।