सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्न कैलालीका व्यवसायीकोे टोली जर्मनीमा

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि कैलालीका व्यवसायीको टोली जर्मनी पुगेको छ ।

जर्मनीको बर्लिनमा आयोजना गरिएको नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रममा सहभागी भएर सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्न टोली त्यहाँ पुगेको हो ।

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटी, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, कार्यकारी निर्देशक गोमा अधिकारीसहितका व्यवसायीको टोली त्यहाँ पुगेको हो ।

त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ बर्लिन २०२४ मा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गरिएको छ । पाटा नेपालले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा फागुन २२ देखि २४ गतेसम्म आयोजित आइटिबी बर्लिनमा सहभागिता जनाएको थियो ।

पर्यटन उद्योगसम्बन्धी आयोजना भएको उक्त प्रवर्धनात्मक मेला विश्वकै सबैभन्दा ठूलो एवं अग्रिणी ‘ट्राभल ट्रेड शो’का रुपमा स्थापित कार्यक्रम हो । यस वर्ष सम्पन्न आइटिबी बर्लिनमा एक सय ७० देशबाट पाँच हजार पाँच सयभन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीसहित विश्वभरिबाट पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापार आगन्तुकलाई आमन्त्रण गरिएको थियो ।

आइटिबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा भब्य प्रस्तुतिसहित ओमानलाई एक आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालालाई भ्रमणका लागि आह्वान गरेको थियो ।

मेसे बर्लिनमा अवस्थित प्रदर्शनी मैदानमा रहेको नेपालको नियमित स्थान, हल ५.२ स्ट्यान्ड १२७ मा केन्द्रमा स्तुपासहित पर्यटकीय आकर्षणले सुसज्जित नेपाल प्याभिलियनअन्तर्गत साहसिक टुर अपरेटरहरू, एयरलाइन्स, होटल व्यवसायी, टुर अपरेटर, पर्वतारोहण, पदयात्रा, र एक्सपिडिसन अपरेटरहरूका साथै वेलनेश तथा स्वास्थ्य पर्यटन उद्यमले नेपालमा ट्रान्स्फर्मटिभ, इमर्सिभ र अविस्मरणीय जीवन्त अनुभव प्रदान गर्ने विभिन्न पर्यटकीयउपज र सेवाको प्रवर्द्धन गरेका छन् ।

तपाईको प्रतिक्रिया