सिगास गाउँपालिका अध्यक्षविरुद्ध अदालतमा मुद्दा दायर

९ जेठ, धनगढी : बैतडीमा एक पालिकाका अध्यक्षविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्लाको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीविरुद्ध कुटपिट र गालीगबेइज्जत शिर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

सिगास–४ को कान्धार देउलेक सडक निर्माण समितिका अध्यक्ष बिर सिंह धामीले उनी विरुद्ध मुद्धा दर्ता गरेका हुन् । गत मंगलवार सडक निर्माणको क्रममा दोस्रो किस्ता बाफतको रनिङ बिलमा पालिकाले २० लाख ४४ हजार रकमको चेक उपभोक्ता समितिलाई दिएको थियो ।

तर चेक साटन जाँदा गाँजरीमा रहेको कृषि विकास बैंक पुग्दा अध्यक्षले उक्त चेक नसाट्न पत्राचार गरेको भन्दै बैंकले भुक्तानी दिन मानेन ।

चेक नसाटिनुको कारण बुझ्न पुनः पालिका केन्द्र गर्जे जादा अध्यक्षले गालीगलौच र कुटपिट गरेपछि उपभोक्ता समिति अध्यक्ष धामी जिल्ला अस्पताल बैतडीमा भर्ना भएका थिए ।

हाल उपचारकै क्रममा रहेका उनले पालिका अध्यक्ष धामी बिरुद्ध सोमबार अदालतमा मुद्धा दर्ता गराएका हुन् । उक्त मुद्धामा पालिकाका अध्यक्षले सात लाख रकम माग्दा बिवाद सिर्जना भएको र सोही क्रममा गालीगलौच गर्दै कुटपिट गरेको पीडित धामीले आरोप लगाएका छन् ।

अध्यक्ष धामीले सार्वजनिक पदको दुरुपयोग गर्दै कुटपिटपछि उल्टै रातभरी प्रहरी चौकीमा थुन्न लगाएको पीडितले बताएका छन् । गाली गलौच गर्दै लात्ता, मुक्का र लाठीले कुटपिट गरेकाले उनीमाथि कैद र जरीवानाका साथै उपचार खर्च माग गरिएको छ ।

तपाईको प्रतिक्रिया