सहजपुर–बोगटान सडक कालोपत्र गर्न सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण कार्य अपुरा

७असोज,धनगढीः सहजपुर–बोगटान सडक कालोपत्र गर्न सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन । निर्माणाधीन सहजपुर–बोगटान सडकको भौतक प्रगति ९२ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

वि.सं २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बढीकेदारसम्म ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । तर, सम्झौताको पाँच वर्षसम्म पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन ।
क्षेत्राधिकारको विवाद र चट्टानका कारण सडक निर्माण लम्बिएको आयोजना ठेकेदार कम्पनीका इन्जिनियर अशोक मल्लले बताउनु भयो । सडक निर्माणका लागि विभिन्न बाधा व्यवधानका कारण लम्बिँदै गएको उहाँले जानकारी दिनुभयो ।
एक वर्षभित्र सडक निर्माणको सबै काम पूरा गर्ने निर्माण कम्पनीको दाबी रहेको छ । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० दशलमव २७ किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो ।
सम्झौतानुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँ–बायाँ एक–एक मिटर सोल्जर ग्रावेल सडक निर्माण गरिसक्नुपर्ने हो । तर निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया