समृद्ध समाज निर्माण गर्न छुवाछुत र विभेद अन्त्य हुनुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन आवश्यक रहेको बताएका छन् ।

धनगढीमा सुरु भएको दलित सामाजिक मञ्चमा उनले विभेद र छुवाछुत अन्त्य नहुँदासम्म समाज र देशको विकास हुन नसक्ने बताएका थिए ।

दलित समुदायका लागि संविधानमा पर्याप्त अधिकारहरू दिइएको भन्दै अधिकार कार्यान्वयनमा सबै जिम्मेवार बन्न आवश्यक उनले बताए । मुलुकको विकासका लागि छुवाछुत र विभेद अन्त्य हुनुपर्ने बताए ।

प्रदेश प्रमुख मियाँले आफू संविधानको रक्षा गर्ने जिम्मेवारीमा रहेको र संविधानमा पनि छुवाछुत मुक्त समाजको परिकल्पना गरेको हुँदा छुवाछुत र विभेद अन्त्य गर्न पनि आफ्नो भूमिका हुने स्पष्ट पारे । उनले जात वा धर्मका नाममा गरिने विभेद कानुनी रुपमा पनि दण्डनीय रहेको बताए ।

प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले समाजमा पछिल्लो समय जातीय विभेद कम हुँदै गए पनि अझै अन्त्य भने हुन नसेकेको बताए । उनले समाजलाई विभेदमुक्त बनाउनु पर्नेमा जोड दिए ।

सामाजिक विकास मन्त्री मेघराज खड्काले दलित अधिकार स्थापित गर्ने गरि कानुन निर्माणको तयारी भइरहेको बताए । कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सांसद लक्ष्मी विक, प्रदेश सभा सदस्य ललिता सुनार लगायतले विभेद र छुवाछुत अन्त्यका लागि सबै लाग्नु पर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा अम्बिका ताम्राकार, साबित्रा घिमिरे, प्रेम विक, देवी खनाल, खडकराज जोशी, राजु तिरुवा सविता सुनार, कृष्ण प्रसाद जैशी, ओमप्रकाश पुन लगायतले मन्तव्य राख्दै विभेदमुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया