धनगढी, पुस ७ । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै असमझदारी नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीद्वारा आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सभापतिसँग कुनै विवाद नभएको दावी गरेका हुन् ।
देउवा सबैका साझा सभापति भएकाले कुनै विवाद नभएको जिकिर गरे । देउवासँग संवाद र निरन्तर छलफल भइरहेको उनको भनाइ छ ।
उनले वर्तामान सरकारलाई असफल हुने छुट नभएको बताए । विशेष परिस्थितिमा ठूला दुई दल मिलेर गठन भएकाले जुनसुकै परिस्थितिमा सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।
नेता कोइरालाले सरकारले विकास र सुशानका विषयलाई सँगसँगै अघि लैजानुपर्ने बताए । संविधान सुधारका लागि सम्पूर्ण राजनीतिक दलहरूसँग छलफल, संवाद गरेर सम्बन्धित सरोकारवालालाई दबाब दिनुपर्नेमा जोड दिए ।