धनगढी, मंसिर ८ । गत हप्ताको शनिबार अर्थात मंसिर १ गतेदेखि धनगढीमा शनिबारीय महिला उद्यम बजार अर्थात मेलाको सुरुवात गरियो ।
सीप भएर पनि बेरोजगार भएका महिलाहरुलाई स्वरोजगार बनाउन मद्दत गर्ने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाले शनिबारीय महिला उद्यम बजारको अवधारणा ल्याएको हो । जसअनुसार दोस्रो दिनको मेला शनिबार सम्पन्न भयो । पहिलो शनिबारीय मेला भन्दा दोस्रो शनिबारको मेलामा दर्शकहरुको उल्लेख्य सहभागिता देखियो ।
मेलामा विभिन्न सांस्कृति प्रतियोगिता पनि गरियो । जहाँ विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रस्तुति देखाइयो । यसले पनि दर्शकहरुको ध्यान केन्द्रीत गर्यो । शनिबारीय मेलातर्फ दर्शकको आकर्षण बढ्न थालेपछि मेलामा स्टल राखेका उद्यमी महिलाहरु पनि आगामी दिनमा आफ्नो कारोबार बढ्ने आशासहित उत्साहित हुन थालेका छन् । आफूले सिकेको सिप सदुपयोग गरी आत्मनिर्भर हुन मद्दत पुग्ने उद्यमी प्रेमकला रानाको विश्वास छ ।
मेलामा राखिएका ६० वटा स्टलमा सिप सिकेर पनि स्वरोजगार बन्न नसकेका महिलाहरुले आफै उत्पादन गरेका विभिन्न चिज बस्तु र स्थानीय परिकारहरु राखेका छन् । जसले दर्शकहरुको ध्यान तानेको छ भने उद्यमी महिलाहरुलाई थप उत्साहित बनाएको छ ।
यो मेलाले उद्यमीहरुलाई आत्मनिर्भर बन्न सहज बनाउनुका साथै नागरिकलाई स्थानीय उत्पादन उपभोग गर्ने अवसर पनि दिएको छ । सीप प्रदर्शन गर्ने ठाउँ पाएमा रोजगारीकै लागि विदेशिनुपर्ने अवस्था पनि नहुने सन्देश मेलाले दिएको मेला अवलोकनमा पुग्नु भएका दिनेश पौडेलले बताए ।
शनिबारीय मेला आफूले सिकेका सिपलाई देखाउने र अर्थोपार्जन गर्ने माध्यम बनेको छ । मेलाको माध्यमबाट महिलाहरुको जीवनस्तरमा केही सुधार आउने अपेक्षा गरिएको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाले बताए । मेलामा थप उद्यमी महिलाहरुलाई पनि स्थान दिइने उनले बताए ।
मेलामा महिलाहरुले उत्पादन गरेको विभिन्न चित वस्तु र परिकार मात्रै नभई सांस्कृतिक प्रस्तुति पनि हुन थालेपछि दर्शकको आकर्षण बढेको हो । आगामी दिनमा शनिबारीय मेलालाई थप परिस्कृत गर्दै लैजाने धनगढी उपमहानगरपालिकाको तयारी छ ।