काठमाडौं, भदौ २६ । कलाकार भिषामा युरोप पठाउछु भनि विभिन्न व्यक्तिसंग रकम ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (ईकु) पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलवार बुढानिलकण्ठ नगरपालिका ३ हात्तिगौडाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
विभिन्न देशहरुमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनि विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरुलाई ईकुले ठगी गरेको उजुरी प्रहरीमा परेको थियो।
युरोपेली मुलुकहरुमा राम्रो काम पाइने र आम्दानीसमेत सोही अनुरुप आकर्षक हुने प्रलोभन देखाई एसएमएस फिल्मस प्रालिका नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिब्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ।
विदेश जान तयार मानिसहरुले खातामा रकम जम्मा गरिसकेपछि रकम जम्मा गर्ने व्यक्तिहरुले कलाकार भिषामा विदेशी मुलुकमा भिषा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरुले भिषा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भनी झुलाउने गरिएको पनि खुलेको छ। उनलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।