वर्षायाम लागेसँगै धनगढीमा नाइरोबी फ्लाइ किराको आतङ्क

२७ असार, धनगढी : वर्षायाम लागेसँगै धनगढीमा नाइरोबी फ्लाई किराको आतङ्क देखिएको छ।

धनगढीमा अस्पतालहरूमा याे किराका कारण भएको समस्यासहित आउने बिरामीहरुको सङ्ख्या केहिदिन यता बढेको हो। धनगढीका निजी अस्पतालहरूमा दैनिक किराका कारण छालामा भएको समस्यासहित बिरामीहरू पुग्ने गरेका छन्।

चिकित्सकका अनुसार मानिसको शरीरमा किराको सम्पर्कपछि याे किराले पेडेरिन नामक रसायन फाल्ने गरेकाे र उक्त रसायनका कारण मानिसको छालामा फोका हुने, छालामा जलन हुने हुँदा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्ने बताएका छन् ।

साथै उक्त समस्या सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुने भएता पनि किटाणुकाे संक्रमणले घाउ बिग्रिन सक्ने समेत बताएका छन्।

यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:

१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस।

२. सुरक्षात्मक लुगा लगाउनुहोस्स
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।

३. झुलक प्रयोग गर्नुहोस्:
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।

४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ।

५. बाहिरी बत्ती घटाउनुहोस:

किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ।

६. सफा वातावरण राख्नुहोस्:
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।

यदि किराकाे संक्रमणमा आइहाले के गर्ने?

छालालाई तुरुन्तै धुनुहोस ।
यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धुनुहोस्। साधारण भेसलिन लगाउनुहो। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्। यदि तपाईंलाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने, चिकित्सकीय सहायता लिनुहोला ।

तपाईको प्रतिक्रिया