धनगढी । नेपालमा लघु वित्तीय संस्था खारेजीको माग राख्दै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट राष्ट्र बैंक घेराउको अभियान थालिएको छ । मंगलवार लघु वित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपालले सुदूरपश्चिम प्रदेश भेला सम्पन्न गरि धनगढीको राष्ट्र बैंक घेराउ गरि देशव्यापी अभियानको सुरुवात गरेको हो । धनगढीबाट सुरु गरिएको राष्ट्र बैंक घेराउ र प्रदर्शनको कार्यक्रम देशभरि संचालन गरिने बताइएको छ ।
नेपालमा वि।स २०४८ सालदेखि नेपाल राष्ट्र बैंकको निर्देशिका मार्फत् लघुवित्तलाई घ वर्गको इजाजत पत्र प्रदान गरि संचालनको अनुमति दिइएको थियो । गरिब र विपन्न बर्गलाई आर्थिक र सामाजिक रुपान्तरण गराउने उद्देश्यले लघु वित्तिय संस्थाको स्थापना गरिएको थियो । तर पछिल्लो समय च्याउ उम्रिए झै गाउँ गाउँमा खोलिएका लघु वित्तिय संस्थाहरुले गरिब परिवारका सोझा, साझा महिलाहरुलाई फसाएर घरबार विहिन बनाएको आरोप लागेको छ ।
राष्ट्र बैंकको निर्देशिका बमोजिम खोलिएका लघु वित्तीय संस्थाको नियमन र अनुगमन नहुदा लघुवित्तहरुले आतंक मच्चाएको लघु वित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपालले आरोप लगाएको छ । गरिब र विपन्न बर्गलाई आर्थिक र सामाजिक रुपान्तरण गराउने उद्देश्यले खोलिएका संस्थाहरुले उल्टै महिला दिदीबहिनीलाई चक्रबृत्ति व्याजमा फसाएर घरबार विहिन बनाएको संर्घष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीले बताए । लघुवित्तहरुले नेपाली जनतालाई चक्र वृत्त व्याजमा फसाए, गरिबलाई घरवार विहिन बनाए,विपन्न नागरिकलाई लुट्ने काम गरे त्यसकारण लघुवित्तहरु नेपालमा असफल भए भएकाले खारेज गुर्न पर्ने उनको भनाई छ ।
कैलालीको बहुनीयाकी सिता देवी चौधरीले सनराइज लक्ष्मी बैंकबाट छोरालाई बिदेश पठाउन २० लाख रिण लिएको बताइन् । उनले भनिन्, रिण लिएको ४बर्ष भयो । मैले कोरोनाको बेला पनि किस्ता हालकै थिए । अस्ती चैत्रमा ४० हजार व्याज हालेकी थिए । तर भदौसम्म ५ किस्ता नहाल्दा मेरो जग्गा लिलामी भयो । अहिले आएर बैंकले जमिन नामसारी गरिसकेको छ । घर खाली गर भनेर धम्की आइरहेको छ । उनले बैंकको किस्ता तिर्दै आएको भएपनि बदमासी गरेर बैंकले लुटेको भन्दै सत्यतथ्य छानबिन गरि न्याय दिन सरकार समक्ष माग गरिन् ।
कैलालीको बहुनीयाँकी रत्रानी देवी कठरीयाले कृषी फर्म संचालन गर्न लघुवित्तबाट १० लाख रिण लिएको बताइन् । तर श्रीमानलाई सिक्लसेल लागेपछि फर्म गर्न नसकिएको बताइन् । उनले भनिन् , मेरो श्रीमान् ३ महिना देखि अस्पतालमा हुनुहुन्छ । लगातार ७ किस्ता हाल्न नसक्दा लघुवित्तको कर्मचारीहरु घरमा गएर पैसा देउ । छोराछोरी विद्यालय नपठाउ भनेर थर्काउने, धम्काउने गर्दछन् । त्यसैले आन्दोलनमा आएको कठरीयाले बताइन् ।
नव सामान्तीको रुपमा स्थापित लघु वित्तिय संस्थाहरु खारेज गर्नुपर्ने,लघु वित्तिय संस्थाहरु द्धारा लगाइएको सामूहिक रिण मिनाह गर्नुपर्ने,आम गरिब किसानहरुलाई निशुल्क रिण प्रदान गर्नुपर्ने,आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने जस्ता माग राख्दै आन्दोलनको सुरुवात गरिएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु भएको आन्दोलन पुष ३ गते कर्णाली प्रदेशको राष्ट बैंक घेराउ,पुष ६ गते नेपालगन्ज ,पुष ८ गते लुम्बिनी प्रदेशको भैरहवा,पुष १३ गते पोखरा,पुष १७ गते बाग्मती ,पुष २७ गते मधेस प्रदेश र माघ १ गते कोसी प्रदेशको राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम तय गरिएको संर्घष समितिका अध्यक्ष मनिराम ज्ञवालीले जानकारी दिए । प्रदेशमा राष्ट्र बैंक घेराउ गर्दा माग पुरा नभए फागुन १ गतेदेखि केन्द्रिय राष्ट बैंक घेराउ गर्न जाने कार्यक्रम रहेको बताइएको छ ।