धनगढी, असोज ९ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेलाई कानून अनुसार कारबाही हुने बताएका छन् ।
धनगढीमा प्रेस चौतारी, नेपालले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले लामिछानेले सहकारीको रकम दुरुपुयोग गरेकाले संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा कारबाही अघि बढ्ने बताएका हुन् ।
‘सहकारीको रकम कम्पनी सञ्चालनमा खर्च गर्नु गैरकानुनी हो । लामिछानेमाथि पनि कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्छ । सहकारीबाट कम्पनीमा रकम ल्याएर टेलिभिजन सञ्चालन गरिएको छ। सहकारीको रकम दुरुपयोग भएको छ।’
गोर्खा मिडियामा सहकारीहरूबाट ६५ करोड बढी रकम गैरकानुनी रूपमा आएको उनले बताए। गोर्खा मिडियाका प्रबन्ध निर्देशक रहदा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानलाई निसर्त सहयोग गर्नुपर्ने पोखरेलले बताए ।
सहकारी प्रकरणको अनुसन्धानमा लामिछानेले गलत प्रचार गरेको र अनुसन्धान प्रभावित पार्ने काम गरेको उनको आरोप छ ।
‘अनुसन्धानलाई रोक्ने गतिविधि भइरहेका छन् । यो कानुनी राज्य माथिको उपास हो । कुनै पनि विषयमा अभियोग लाग्दा अनुसन्धानको विषयमा सहयोग गर्नुपर्छ।’