रवि लामिछानेको शिर निहुरिनुपर्ने हो, उल्टै भ्रम छर्दैछन् : महत

धनगढी, असोज ४ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीमा ठगी हुने खालको प्रतिवेदन आइसक्दा पनि उल्टै भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले लामिछानेले आफ्नो पक्षमा भिड जम्मा गर्न विभिन्न प्रोपागान्डा अपनाइरहेको आरोप लगाए ।

‘सहकारी ठगी पुष्टि हुने खालको प्रतिवेदन आइसक्दा पनि शिर निहुरिनु पर्ने हो, झन् क्लिन चिट पाएँ भनेर भ्रम छरिरहेका छन्, यो गलत हो’ उनले भने,
उच्चस्तरीय छानबिन समितिले गोरखा मिडियाको सम्पूर्ण खर्च सहकारीको पैसाले चलेको प्रतिवेदन सार्वजनिक गरिसक्दासमेत क्लिन चिट पाएँ भन्नु मूर्खताबाहेक केही होइन ।’

प्रवक्ता महतले दुई ठूलो दल मिलेर बनेको बलियो सरकार ढल्छ भने हल्ला फिजाइसकेको बताए । देशमा देखिएको अस्थिरता रोक्न दुई ठूला दल मिलेर बनेको सरकार कुनै कारण नढल्ने उनले बताए । साथै उनले वर्तमान समिकरणबाटै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया