धनगढी, असोज १४ । नेकपा माओवादी केन्द्र बझाङमा एक समूहले बिद्रोह गरेको छ ।
पार्टीको नीतिविपरीत नेतृत्व चयन गर्ने काम भएको भन्दै अर्को पक्षले समानान्तर कमिटी गठन गरेको हो ।
मुल नेतृत्वबाटै गैरजिम्मेवारी काम भएको भन्दै नन्दलाल धामीको संयोजकत्वमा समानान्तर कमिटी गठन गरिएको छ । समानान्तर कमिटीको सचिवमा अम्मरराज भण्डारी चयन भएका छन् ।
समानान्तर कमिटीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ कमिटी गठन गरिएको बारे जानकारी दिए ।
एक पदमा एक जना मात्र रहने पार्टी निर्णय भएपनि जनप्रतिनिधिलाई पनि पार्टीको जिम्मेवारी दिएपछि समानान्तर कमिटी गठन गरिएको कमिटी संयोजक धामीले बताए । बझाङमा पार्टी निर्णय विपरीत काम हुन थालेपछि विरोधमा उत्रिएको उनले बताए ।
उनका अनुसार जनप्रतिनिधिलाई जनप्रतिनिधिकै रुपमा रहन दिने, उनीहरुलाई सरकारी काममै सहयोग गर्ने र पार्टीको कुनै जिम्मेवारीमा नराख्ने निर्णय थियो।
तर पार्टीको नीतिविपरीत काम हुन थालेपछि विद्रोह गर्नुपरेको समान्तर कमिटी सचिव अम्मरराज भण्डारीले बताए । पार्टीको निर्णय प्रदेश समितिबाटै उलंघन भएपछि त्यसको विरुद्ध आवाज उठाउनुपरेको उनले बताए ।
यस्तो कार्यको बझाङको छबिस–पाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका, थलारा, तलकोट, मष्टा लगायत नेकपा माओवादी केन्द्रका पालिका इन्चार्जहरु विरोधमा उत्रिएका छन्।