माओबादी केन्द्रले सुदूरपश्चिममा ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम गर्ने

धनगढी, असोज १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पार्टीका उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलको उपस्थितिमा धनगढीमा यही असोज ८ र ९ गते बसेको प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले सङ्गठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले आगामी मङ्सिर १० गतेसम्म प्रदेशका नौवटै जिल्लामा पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णयसमेत गरेको माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले बताए।

त्यस्तै, मङ्सिर ११ गते कैलाली र कञ्चनपुरका सबै वडामा एकसाथ वडा सम्मेलन गर्ने निर्णय गरेको छ। पहाडी जिल्ला डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा भने मङ्सिर ११ देखि १७ गतेसम्म वडा सम्मेलन सम्पन्न गरिसक्ने निर्णय गरिएको सचिव बुढाले बताए ।

दुई दिनसम्म चलेको बैठकको अध्यक्ष पार्टीका प्रदेश अध्यक्ष हरिराम चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया