धनगढी, मंसिर २० । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक दम्पतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत कार्तिक ९ गते धारिलो हतियार प्रहार गरि बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरेको आरोपमा लालझाडी गाउँपालिका–२ बस्ने ५० वर्षीय गंगाराम रानालाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।
प्रहरीका अनुसन्धानमा मदिरा नदिएको झाकमा रानाले बडायक दम्पतीको हत्या गरेको स्वीकार गरेका छन् ।
८ कार्तिकको राति मदिरा सेवन गरेर बडायकको नास्ता पसलमा पुगेका रानाले मदिरा नदिएको निहुँमा आवेशमा आएर धारिलो हतियार प्रहार गरि हत्या गरेको बयान दिएका छन् ।
बडायकको हत्यापछि घरको बरण्डामा झुलभित्र सुतिरहेकी उनकी श्रीमतीको पनि हत्या गरेको रानाले बयानमा भनेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
गत कार्तिक ९ गते धारिलो हतियार प्रहार गरि बडायक दम्पतीको हत्या गरेको अवस्थामा घरमै शव भेटिएको थियो ।