भारतीय पक्षबाट महाकालीको पानी तान्ने प्रस्ताव

३१ असार, धनगढी  :  नेपाल–भारत समन्वय बैठकमा भारतीय अधिकारीले धारचुलामा खानेपानीको समस्या भएकाले महाकाली नदीको पुलघाट दार्चुला पारिबाट लिफ्ट गर्न सहमति मागेका छन ।

नेपाली पक्षले भने यस विषयमा सरकारलाई जानकारी गराउने भएका छन । भारतको पिथौरागढमा आइतबार भएको नेपाल–भारत समन्वय बैठकमा नेपालको तर्फबाट बैतडी, दार्चुला र भारतको तर्फबाट पिथौरागढ जिल्लाका प्रमुख अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । बैठकमा भारतले विस्फोटक पदार्थ प्रयोग गरी महाकाली नदी किनारमा सडक निर्माण गर्दा ढुङ्गा र माटोले नदीको बहाव बढ्न गई समस्या पैदा भएको प्रति दुई वटै देशका प्राविधिक मिलेर नदीको अवरोध हटाउने सहमति भएको छ ।

नेपालबाट बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, बैतडी जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही, सशस्त्र प्रहरी बल नेपालका जिल्ला प्रमुख गङ्गादत्त पन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक अर्चना सिन्हा, दार्चुला प्रहरी प्रमुख तर्कराज पाण्डेय, सशस्त्र प्रहरी बल दार्चुलाका प्रमुख डम्बर विष्टलगायतको सहभागिता रहेको थियो । नेपाली अधिकारीहरूले महाकाली नदीमा भारतीय पक्षबाट फोहोर हुँदा नदी दूषित बन्दै गएकाले महाकालीलाई डम्पिङसाइट नबनाउनसमेत आग्रह गरे। दुई वटै देशका सहरको फोहोर व्यवस्थापन गर्ने सहमति भएको छ । नेपाल–भारतका प्रमुख जिल्ला अधिकारीको समन्वय बैठकमा विपत्का बेला महाकाली नदीमा रबर बोट चलाउने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले भारतबाट नसालु औषधी नेपाल भित्रिने गरेकाले त्यस्ता औषधीको बिक्री वितरण रोक्न प्रस्ताव राखेका छन । उनले दार्चुलाको व्यासमा बिजुली नभएकाले जेनेरेटर चलाउन भारतबाट इन्धन ल्याउन सहज वातावरण बनाउन पनि माग गरे । नेपालीका लागि झुलाघाटको पुल एक घण्टा अगावै खोल्ने विषयमा पनि सहमति भएको छ । पुल पहिलेको भन्दा एक घण्टा चाँडो (बिहान ६ बजे खोल्ने र साँझ ७ बजे बन्द गर्ने) सहमति भएको छ । झुलाघाटबाट पिथौरागढ हुँदै भारतका अन्य जिल्ला जाने सरकारी बस (रोडबेजको बस) हरेक दिन बिहान ७ बजे छुट्ने गरेको छ।‘झुलाघाटको पुल ६ बजे बिहान खुल्ने भएपछि नेपाली यात्रुले भारतीय सवारी अग्रिम बुकिङ गर्नुपर्ने बाध्यता हट्ने भएको छ’ प्रमुख जिल्ला अधिकारी पन्थीले भने ‘अब सस्तो भाडा दरमा चढ्न मिल्ने र यातायात सेवा सहज हुनेछ ।’

साथै झुलाघाट मोटरेबल पुलको लम्बाइ ५५० मिटर र उचाइ १५० मिटर हुने गरी प्राविधिक निर्णय गरेर केन्द्र सरकारलाई लेखी पठाउने तयारी भइरहेको छ । साभारः गोरखापत्र

तपाईको प्रतिक्रिया