भारतको पुणेमा हेलिकोप्टर दुर्घटना

नयाँदिल्ली । पश्चिमी भारतको पुणे जिल्लाको बावन नजिक बुधबार हेलिकप्टर दुर्घटना भएको छ ।

अधिकारीहरूका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुँदा हेलिकोप्टरमा आगो लागेको थियो ।

दुर्घटनामा हेलिकोप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले बताएका छन् । उनले आफूहरू घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गरेका छन् ।

उनले दुर्घटनामा मृत्यु वरण गरेका तीनैजनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको बताएका छन् । हेलिकप्टर विपक्षी राष्ट्रवादी काङग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ ।

दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन यद्यपि स्थानीय मिडियाका अनुसार दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकोले दुर्घटना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया