बैतडीमा बिडिसिए कप क्रिकेट प्रतियोगिता मंसिर ११ गतेदेखि

बैतडी, मंसिर २ । बैतडीमा २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिएक एकदिवसीय क्रिकेट प्रतियोगिता २०८१ यही मंसिर ११ गतेदेखि हुने भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजना हुन लागेको यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा गरेर सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

पहिलो चरणमा प्लेट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुनेछन् । जसको खेलतालिका पनि सार्वजनिक भएको छ । सहभागी हुने ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा कालाशैनी, महारूद्र र पाटन क्रिकेट क्लब, समूह बी मा पञ्चकोटी, बर्तोली र थालिगडा, समूह सी मा ग्वाल्लेक र गिरेगडा, समूह डी मा यौङ्गस्टार, कैलपाल र पाटन भ्याली रहेका छन् ।

मंसिर ११ गतेदेखि शुरू हुने प्रतियोगिताको उद्घाटन खेलमा कालाशैनी र महारूद्र भिड्नेछन् । मंसिर १२ गते पहिलो खेलमा पञ्चकोटी र बर्तोली भिड्दा दोस्रोमा महारूद्र र पाटन क्रिकेट क्लब आमने सामने हुनेछन् ।

मंसिर १३ गते पहिलो खेलमा बर्तोली र थालिगडा तथा दोस्रोमा पाटन क्रिकेट क्लब र कालाशैनी,मंसिर १४ गते पहिलोमा पञ्चकोटी र थालिगडा तथा दोस्रोमा पाटन भ्याली र यौंगस्टार, मंसिर १५ गते यौंगस्टार र कैलपाल तथा ग्वाल्लेक र गिरेगडा, मंसिर १६ गते कैलपाल र पाटन भ्याली तथा ग्वाल्लेक र गिरेगडा प्रतिस्पर्धा गर्नेछन् ।

मंसिर १७ गते समूह ए र समूह सी को विजेताबीच पहिलो सेमिफाइनल खेल हुँदा दोस्रोमा समूह बी र समूह डी को विजेताबीच सेमिफाइनलमा भिडन्त हुनेछ ।

मंसिर १८ गते प्लेट च्याम्पियनसिपको फाइनल भिडन्त हुनेछ । प्लेट च्याम्पियनसिपको विजेता टोली इलाइट च्याम्पियनसिपका लागि छनौट हुनेछ । इलाइट च्याम्पियनसीप मंसिर २० गतेदेखि शुरु हुने अध्यक्ष चन्दले बताए ।

गत संस्करणमा सेमिफाइनल पुगेका चार टोली र यो वर्षको प्लेट च्याम्पियनसिपको विजेता टिमबीच इलाइट च्याम्पियनसिप हुनेछ ।

निङलाशैनी क्रिकेट क्लब, दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाईसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू दशरथचन्द क्रिकेटमैदान सुन्दरखालीमा सञ्चालन हुने चन्दले बताए । यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनेछ ।

बैतडी जिल्ला क्रिकेट संघले गत वर्षदेखि ओडिआई फरम्याटमा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक रोयल मल्टिलुक कन्सर्न (रेडियन्ट ग्याँस) रहेको छ । थप सहयोगका लागि अन्य संघसंस्था र सरोकारवालासंग परामर्श भइरहेको अध्यक्ष चन्दले बताए ।

गत वर्ष सम्पन्न २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले जितेको थियो ।

 

तपाईको प्रतिक्रिया