बैतडीको सिगासमा दुई अध्यक्षबिच कुटाकुट

६ जेठ, बैतडी : बैतडीको सिगासमा चेकको विषयलाई लिएर दुई अध्यक्षबिच कुटाकुट भएको छ ।

जिल्लाको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र सडक उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिहं धामीबिच विहीवार देउलेक–कान्धार सडक उपभोक्ता समितिलाई २० लाख ४४ हजारको चेक काटिएको विषयलाई लिएर कुटपिट भएको हो । कुटपिटबाट समितिका अध्यक्ष वीरेन्द्रसिहं धामी घाइते भएका छन ।

कुटपिटबाट घाइते भएका उनलाई बैतडी अस्पताल भर्ना गरिएको छ । समितिका अध्यक्ष वीरेन्द्रसिंहका अनुसार गाउँपालिकाले दिएको चेक साट्न बैंक जाँदा गाउँपालिका अध्यक्षले बैंकमा फोन गरेर चेक रोक्न आदेश दिएका थिए । गाउँपालिकाका अध्यक्षले लाठी, ढुङ्गामुडा, र लात्ताले कुटपिट गरेको समितिका अध्यक्षको गुनासो गरेका छन ।

गाउँपालिकाका अध्यक्षले भने आफूले कसैमाथि कुटपिट नगरेको र उल्टै गाउँपालिकाका कर्मचारी र आफूमाथि दुव्र्यवहार भएको दाबी गरेका छन । साथै स्काभेटरले काम गरेको किर्ते हस्ताक्षर गरेको समेत आरोप लगाएका छन । सिगास गाउँपालिका–९ को देउलेकबाट सिगास–४ को वडा कार्यालय कान्धारसम्म गत वर्ष सडक खन्ने काम सुरु भएको थियो ।
यो वर्ष २७ सय मिटर सडक खन्न ३९ लाखमा सम्झौता भएको थियो । गाउँपालिकाले शुक्रवार विज्ञप्ती जारी गरेको छ।

उपभोक्ता समितिका अध्यक्ष वीरसिंह धामीले भुक्तानीको चेक बुझेर लगिसकेको अवस्थामा उनले नै सडक निर्माण कार्यमा प्रयोग भएको स्काभेटरका चालक दिपेन्द्र अधिकारीको किर्ते हस्तार गरी तयार गरेको सम्झौता पेश गरी भुक्तानी लिएको जानकारी प्राप्त भएकाले कृषि विकास बैंक शाखा शिगासलाई पत्र लेखि सो चेक रोक्का गरिएको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया