बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिकाको खोजी गर्दै

१ जेठ बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिकाको खोजी गर्दै उपचार गरिरहेको छ ।

कुपोषित बालबालिकाहरुको जेड स्कोरिङ विधिबाट खोजी गर्ने कार्य सुरु गरेको गाउँपालिकाले जनाएको छ । पालिकाका प्रत्येक वडाका हरेक घरधुरीमा पुगेर जन्मेको ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुको खोजी गर्ने कार्य सगैँ कुपोषित भएका बालबालिकाहरुको चेकजाँच गरेर कुपोषित भेटिएमा उनीहरुलाई उपचार गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।

स्वास्थ्य चेकजाँचका क्रममा कुपोषित भेटिएका बालबालिकाहरुलाई पोषिलो खानेकुरा खुवाउनका लागि अभिभावकहरुलाई जागरुक गर्ने गरिएको छ ।

शीघ्र कुपोषित भएका बालबालिकाहरुलाई नजिकका स्वास्थ्य संस्थामा रहेका ओटीसी सेन्टरमा लगेर उपचार गर्ने, पोषिलो खानेकुरा आरयुटीएफ दिने र उपचारका लागि अन्यत्र लैजानुपर्ने भएमा रेफर गर्ने गरिएको महराले बताए ।

कुपोषित भएका बालबालिकाहरुको उपचारका लागि आर्थिक समस्या भएका परिवारलाई केही प्रोत्साहन गर्ने समेत पालिकाको नीति रहेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

सुर्नया गाउँपालिकालाई कुपोषणरहित गाउँपालिका बनाउने अभियान अन्तर्गत कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य भइरहेको हो । बालबालिका कुपोषित भएमा भोलिका दिनमा समस्या आउने भएकाले उनीहरुलाई समयमै पौष्टिक खाना र आवश्यक उपचारमा पहुँच पुगोस भनेर यो अभियान शुरु गरिएको हो । पालिकाका ८ ओटै वडामा यो अभियान सञ्चालन हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया