बैतडीको दशरथचन्द नगरपालिकाले शुरु गर्यो श्रम स्वीकृति दिने कार्य

३० बैशाख, बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ ।

यसअघि वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि दशरथचन्द नगरपालिकाले श्रम स्वीकृती दिन थालेको हो ।

सरकारले गएको चैत १६ गते वैशाख १ गतेदेखि लागू हुने गरेर स्थानीय तहहरुको रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा दशरथचन्द नगरपालिकाले शुक्रबार पहिलो पटक कतार जान इच्छुक दशरथचन्द नगरपालिका–६का कोमलराम महरलाई श्रम स्वीकृति प्रदान गरेको नगरपालिकाका सुचना अधिकारी राजेन्द्र बिष्टले बताए ।

उनलाई नगरप्रमुख पुस्करराज जोशीले श्रम स्वीकृति हस्तान्तरण गरेका हुन । नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको महरले बताए। बिना झण्झट कम खर्चमा घरदैलोको सरकारले श्रम स्वीकृति प्रदान गर्दा खुसी लागेको उनले बताए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउनका लागि स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको नगर प्रमुख जोशीले बताए ।

तपाईको प्रतिक्रिया