बैतडीका दुई विद्यालय भवन जोखिममा

२असोज,धनगढीः पहिरोको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् । दशरथचन्द नगरपालिका–४ शाहीलेकमा रहेको वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालय पहिरोको जोखिममा रहेका हुन् ।

विद्यालयको भवन पछाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिरोको जोखिममा परेको वीरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिनुभयो । पहिरोका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको हो । उहाँले भन्नुभयो, पहिरोले भवन जोखिमा परेको छ । शौचालय जाने बाटो भत्काएको छ । विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको छ ।ु

विद्यालय भवन तलतिर खसेको पहिरो रोकथामका उपाय अपनाउन नसके थप समस्या निम्तिने अवस्था रहेको बताइएको छ । विद्यालय भवन पहिरोको जोखिममा परेको विषयमा प्रहरीले मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्मको पढाइ हुने यस विद्यालयमा अहिले साढे पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

यस्तै जिल्लाको पाटन नगरपालिका–४ कुणी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको दुईकोठे भवन पहिरोको जोखिममा परेको छ । यो विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिहं विष्टका अनुसार अविरल वर्षाका कारण विद्यालयको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएको हो। कक्षा ८ सम्मको पढाइ हुने नवदुर्गा आधारभूत विद्यालयमा एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया