बेहडाबाबामा गङ्गादशहरा मेलाको तयारी तीव्र

३१ जेठ, धनगढी : धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा लाग्ने धार्मिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

यस बर्षको गंगा दशहरा मेलामा दर्शन गर्न १० देखि १५ लाख भक्तजनहरु आउने अपेक्षा गरिएको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम राज जोशीले जानकारी दिए । उनले तयारी अन्तिम चरणमा पुगेको बताए ।

मन्दिर व्यवस्थापन,भक्तजनहरूलाई दर्शन गराउने व्यवस्था,खानेपानी,चर्पी,शिव गंगा देखि मन्दिर सम्म बत्तीको व्यवस्था गर्ने काम भएको उनको भनाई छ ।

शिव भगवान्को दर्शन गरिने गंगा दशहरामा असार १ गते राति १२ बजेदेखि दर्शन गराउने तयारी गरिएको जनाइएको छ । बेहडाबाबा मन्दिर सम्म पुग्ने बाटोमा धनगढी उपमहानगरपालिकाले पानी हालेर आवतजावतमा सहज बनाउने अध्यक्ष जोशीले बताए । गंगा दशहरामा सम्पुर्ण तयारी गरेकाले ढुक्क भएर मन्दिरसम्म आउन अध्यक्ष जोशीले सम्पुर्ण भक्तजनहरूलाई आग्रह गरे ।

बेहडाबाबामा लाग्ने गंगादशहरामा भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् । बेहडाबाबाको दर्शन गरेमा मनोकामना पुरा हुने विश्वास रहिआएको छ ।

तपाईको प्रतिक्रिया