बालकलाई नाका कटाई भारत लैजान खोज्ने व्यक्ति पक्राउ

धनगढी, कार्तिक २४। कैलालीबाट त्रिनगर–गौरिफन्टा नाका हुँदै बालकलाई भारत लैजान खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

हिजो (शुक्रबार) बेलुका त्रिनगर प्रहरीले बालकलाई भारत लैजान खोज्ने भारतीय नागरिक खलिम खानलाई बालकसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ का एक बालकलाई ट्याक्सीमा राखेर नाका कटाउन खोज्दा उनी पक्राउ परेका हुन्।

मनहेराका ३ कक्षामा पढ्ने ती बालकलाई खानले भारत लैजान लागेका थिए। बेचविखनको आंशकामा खानलाई प्रहरीले नियन्त्रणमा छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले ती व्यक्ति र गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको बताए ।

तपाईको प्रतिक्रिया