बाजुरामा एक कर्मचारी कुर्सीमै मृत भेटिए

२ साउन, धनगढी  :  बाजुरामा कुर्सीमा बसेको अवस्थामा एक जना कर्मचारी मृत भेटिएका छन् ।

मृत भेटिनेमा बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जयलाल दानी रहेको प्रहरीले जनाएको छ ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र बोहराले दानी बुढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्चीमा बसेको अवस्थामा मंगलबार बिहान मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार नगरपालिकाकै कर्मचारीले दानी मृत अवस्थामा रहेको कुरा प्रहरीलाई जानकारी गराएका थिए ।

बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए । उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया